संविधान दिवसको अवसर पारेर नेपाल पत्रकार महासङ्घ झापाले प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ ।
बिर्तामोडको मुक्ति चोकबाट सुरु भएको उक्त प्रभातफेरीमा सञ्चारसँग सम्बन्धित विभिन्न संघसंस्था तथा सामाजिक संगठनहरूको सक्रिय सहभागिता रहेको थियो ।
प्रभातफेरीपछि आयोजित संक्षिप्त कार्यक्रममा वक्ताहरूले लामो संघर्षपछि प्राप्त संविधानको संरक्षण र सुदृढीकरणका लागि नागरिक तहबाट निरन्तर खबरदारी आवश्यक रहेको उल्लेख गरे । जेनजी आन्दोलनपछि संविधान संकटमा पर्न सक्ने सम्भावनाबारे चेतावनी दिँदै उनीहरूले राजनीतिक दल तथा सरोकारवालाको ध्यानाकर्षण समेत गराएका थिए ।
उक्त अवसरमा मानव अधिकार सञ्जालका अध्यक्ष डा.रूपक खनाल, नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, महासङ्घ झापाका अध्यक्ष एकराज गिरी लगायतले विचार व्यक्त गरेका थिए ।
आयोजक संस्थाका तर्फबाट उपाध्यक्ष सुब्रत न्यौपानेले सहभागी संघसंस्थाप्रति आभार प्रकटसहित धन्यवाद व्यक्त गरेको कार्यक्रमको सञ्चालन महासङ्घ झापाका सचिव राजु पाठकले गरेका थिए ।







