दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा संयुक्त रूपमा आयोजना हुने सन् २०२७ को आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको समूह विभाजनसँगै खेल तालिका सार्वजनिक भएको छ ।
दक्षिण अफ्रिकाको केप टाउनमा बिहीबार आयोजित एक कार्यक्रमका बीच समूह विभाजनसँगै खेल तालिका सार्वजनिक गरिएको हो ।
समूह विभाजन अनुसार समूह ‘ए’ मा अफगानिस्तान, अस्ट्रेलिया, भारत, पाकिस्तान, जिम्बाबे र क्वालिफायरबाट आउने एक टोली रहेका छन् ।
समूह ‘बी’ मा इंग्ल्यान्ड, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र छनोटबाट आउने अर्को टोली परेका छन् ।
समूह चरणको पहिलो खेलमै भारत र अस्ट्रेलिया खेल्ने छन् । सन् २०२३ विश्वकपको फाइनलमा अस्ट्रेलियाले भारतलाई नै हराउँदै उपाधि जितेको थियो ।
नयाँ विश्वकप ढाँचाअनुसार ओडीआई वरियताका शीर्ष ८ टोलीसँगै सहआयोजक दक्षिण अफ्रिका र जिम्बाबेले सिधै मुख्य समूह चरणमा स्थान बनाएका छन् । त्यसमा छनोट प्रतियोगिताको विजेता थपिँदा मुख्य चरणमा ११ टोली निश्चित हुनेछन् ।







