असहाय तथा अनाथ बालबालिकाको संरक्षण, शिक्षा र आवास व्यवस्थापनलाई दिगो बनाउने उद्देश्यले झापाको कनकाईमा श्रीमद्भागवत नवाह धनधान्याचल ज्ञान महायज्ञ आयोजना हुने भएको छ ।
कनकाई नगरपालिका-६ मन्सापुरस्थित राधिका फाउन्डेसनको निर्माणाधीन भवनमा मंसिर १२ देखि २१ गतेसम्म महायज्ञ सञ्चालन गर्न लागिएको हो । महायज्ञबाट संकलित सहयोग भवन निर्माण पूरा गर्न तथा संस्थामा आश्रित बालबालिकाको शिक्षा र संरक्षणमा खर्च गरिने आयोजकले जनाएको छ ।
फाउन्डेसनकी संस्थापक अध्यक्ष भागवत मञ्जरी राधिका दासीका अनुसार संस्थामा हाल १७ जना अनाथ तथा असहाय बालबालिका आश्रित छन् । उनीहरू भाडाको घरमा बस्दै सुरुङ्गास्थित पशुपति अंग्रेजी बोर्डिङ स्कुलमा अध्ययन गरिरहेका छन् । आफ्नै भवन नहुँदा बालबालिकाको आवास र शैक्षिक व्यवस्थापनमा कठिनाइ भएकाले सहयोग जुटाउन महायज्ञ आयोजना गरिएको उनले बताइन् ।
स्थानीय शान्तिराज प्रसाईंले उपलब्ध गराएको अढाई कठ्ठा जग्गामा फाउन्डेसनको भवन निर्माण भइरहेको छ । भवन निर्माण पूरा गरी बालबालिकाका लागि सुरक्षित आवास र अध्ययनको वातावरण तयार गर्नु महायज्ञको मुख्य उद्देश्य रहेको आयोजकको भनाइ छ ।
मंसिर १२ गते कलश शोभायात्रासहित महायज्ञ सुरु हुनेछ । मंसिर १३ देखि २१ गतेसम्म भागवत मञ्जरी राधिका दासीले कथा प्रवचन गर्नेछिन् । प्रत्येक साँझ गंगा आरतीसमेत गरिने कार्यक्रम संयोजक तथा कनकाई-६ का वडाध्यक्ष लक्ष्मीप्रसाद ओलीले जानकारी दिए ।
महायज्ञ सम्पन्न गर्न २२ देखि २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । आयोजकले करिब दुई करोड रुपैयाँ सहयोग संकलन गर्ने लक्ष्य राखेको छ ।







