झापाको बिर्तामोडमा अवस्थित लिङ्कन मन्टेश्वरी स्कुलका बालबालिकाद्वारा आफ्नो घर आश्रम नेपालको अवलोकन तथा एकदिनको खानाका लागि सहयोग गरेका छन् ।
बिर्तामोड नगरपालिका वडा नं.५ मा रहेको आश्रममा विद्यार्थीहरूले तिहारमा देउसीभैलो खेलेर संकलन गरेको रकमबाट आश्रममा आश्रितहरूका लागि सहयोग गरेका हुन् ।
यसैबीच सोहि क्रममा विद्यार्थीहरूले आश्रममा रहेका नागरिकहरूको अवस्था र दैनिक जीवनशैली बारे जानकारी लिएका थिए ।
विद्यार्थीहरूले तिहारमा देउसीभैलो खेलेर संकलन गरेको रकमलाई वनभोज तथा अनावश्यक काममा खर्च गर्नुको साटो सामाजिक सेवामा सहयोग गर्ने हेतुले आश्रममा सहयोग गरेको विद्यालयका सञ्चालक सरोज पौडेलले बताए ।
उक्त अवसरमा बिर्तामोड नगरपालिका-५ का वडाध्यक्ष रोहित प्रसाईंले देउसीभैलोबाट संकलित रकम सामाजिक सेवामा खर्च गर्दै विद्यार्थीहरूले सहयोग, सद्भाव र मानवीय सेवाको उदाहरण प्रस्तुत गरेकोमा धन्यवाद व्यक्त गरेका थिए ।
त्यस्तै सामाजिक अभियान्ता विष्णु आचार्यले विद्यार्थीहरूलाई अध्ययनका अतिरिक्त सामाजिक उत्तरदायित्व काममा बालबालिकाहरुलाई संलग्न गराएकोमा विद्यालय परिवारलाई धन्यवाद दिएका थिए ।
बालबालिका तथा शिक्षक लगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन सामाजिक अभियान्ता विष्णु आचार्यले गरेका थिए ।
बालमैत्री विद्यालयको रुपमा परिचीत लिङ्कनले यसअघि पनि यस्ता किसिमका विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ ।







