शिक्षा मन्त्रालयले पछिल्ला वर्षमा विदेशमा उच्च शिक्षा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च रहँदै आएको जनाएको छ ।
आर्थिक वर्ष २०८२/८३ मा १ लाख १४ हजार ९२४ वटा वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) जारी भएको छ ।
शिक्षा मन्त्रालयले सार्वजनिक गरेको वार्षिक प्रगति प्रतिवेदन(आव २०८२/८३) मा चिकित्सा शिक्षाको स्नातक तहमा ४९८ जना स्नातकोत्तर तहमा ८२ जना फेलोसिपमा १४ जना, डीएम एमसिएचमा १२ जना र पीएचडीमा १५ जना गरी कुल ६२१ जना विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमतिपत्र प्रदान गरिएको उल्लेख छ ।
प्रतिवेदनमा भनिएको छ, ‘मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाले निजी खर्च वा छात्रवृत्तिमा विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई अध्ययन अनुमतिपत्र तथा विदेशी मुद्रा सटहीका लागि आवश्यक सिफारिससम्बन्धी काम गर्दै आएको छ ।’
नेपालबाट विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीले शिक्षा तथा खेलकुद मन्त्रालयबाट वैदेशिक अध्ययन अनुमतिपत्र लिनुपर्ने व्यवस्था छ ।







