नेपालमा वाह्य हस्तक्षेप बढेको दाबी गर्दै धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ रोएका छन् ।
जेनजी आन्दोलनपछि प्रधानमन्त्री बन्न इच्छा देखाएका साम्पाङले रुँदै नेपाललाई विदेशीलाई कब्जा गर्न सक्ने खतरा रहेको दाबी गरेका हुन् ।
भदौ २३ र २४ गते भएको आन्दोलनपछि चल्तीका सबै नेताको भागाभाग भएको र मुलुक नेतृत्व लिन कोही अघि नसरेकाले आफूले इच्छा देखाएको उनको भनाइ छ । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा मेयर साम्पाङ भावुक भएर चिन्ता जताउँदै रोइरहेको देखिन्छ ।
‘विदेशीले यतिखेर टेकओभर गर्न सक्ने सम्भावना छ, के गर्ने? सबै नेताहरू भागाभाग, रक्ताम्य, कोही बागमतीमा कुटाइ खाँदै गरेको, कोही कहाँ के, तहसनहस, पार्टीको कार्यालय तहसनहस, को आउने त, को शक्ति आउने त त्यहाँ? कोही छैन, कस्ले गरेको, कसरी गरेको भन्ने बारेमा कसैलाई थाहा पनि छैन?,’ उनले भनेका छन् ।
मानिसहरूले आफूलाई नेतृत्व लिन आग्रह गरेपछि अघि सरेको उनको तर्क छ । आफूले हिम्मत नहारेको बताउँदै उनले भने, ‘तँलाई गोली लाग्न सक्छ भन्ने कुराहरू थियो त्यहाँ, ठिक छ लाग्छ भने लागोस् भनेर त्यो उसमा निस्कें ।’आफू अघि सर्दा अरू लुकेर बसेको भन्दै उनले मुलुक बचाउन बलिरहेको आगोमा हाम्फालेको बताए ।
मानिसहरूको प्रस्ताव अनुसार प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेको बताउँदै साम्पाङ भदौ २५ गते काठमाडौँ आएका थिए । काठमाडौँमा उनले प्रधानसेनापति अशोक राज सिग्देललाई भेटेका थिए ।
जेनजी युवाहरूको अनलाइन मतदानका आधारमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाममा प्रधानमन्त्रीको लागि अग्रस्थानमा आएपछि मेयर साम्पाङले पनि समर्थन जनाएका थिए । तर कार्की प्रधानमन्त्रीमा नियुक्त हुने लगभग तय भएपछि साम्पाङले असन्तुष्टि पोखेका थिए ।







