जल तथा मौसम विज्ञान विभागले बाढीसम्बन्धी पूर्व सूचनालाई थप प्रभावकारी बनाउनका सर्वसाधारणलाई फोन गरेरै जानकारी दिने भएको छ । विभागले यसका लागि ‘भ्वाइस कल’ सेवा सुरु गर्ने तयारी गरेको हो ।
बाढी आउने खतरा देखिएमा एसएमएसमार्फत सन्देश प्रवाह गर्दै आएको विभागले अबदेखि भने ‘भ्वाइस कल’मार्फत पनि पूर्व सूचना सम्प्रेषण गर्ने तयारी थालेको हो ।
विभागका बाढीविद् विनोद पराजुलीले नेपाल टेलिकमसँगको सहकार्यमा विभागले यही सातादेखि परीक्षणका रूपमा ‘भ्वाइस कल’मार्फत सूचना प्रवाह गर्ने तयारी गरिरहेको जानकारी दिए ।
Advertisement
पराजुलीका अनुसार बाढीसम्बन्धी पूर्व सूचना उपलब्ध गराएपछि बाढीबाट हुने धनजनको क्षति न्यूनीकरण हुन थालेको छ । पूर्व सूचनालाई थप प्रभावकारी बनाउन पूर्व तयारी तथा पूर्व सूचनामा थप लगानी आवश्यक पर्ने उनको भनाइ छ ।







