युट्युब प्रयोग गर्ने बालबालिकाको गोपनीयता उल्लङ्घन गरेको दाबीसहित परेको मुद्दामा अमेरिकी सर्च इञ्जिन गुगलले ३ करोड डलर क्षतिपूर्ति दिनुपर्ने भएको छ ।
३४ बालबालिकाका अभिभावकले कम्पनीमाथि दायर गरेको मुद्दामा गुगलले ३ करोड डलर क्षतिपूर्ति तिर्नुपर्ने भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
अभिभावकको सहमति बिना बालबालिकाको व्यक्तिगत जानकारी संकलत गरेर लक्षित विज्ञापन पठाउन प्रयोग गरिएको आरोपमा ती अभिभावकहरूले गुगलबिरुद्ध मुद्दा लगाएका थिए ।
यसअघि गुगलको मातृ कम्पनी अल्फाबेट २०१९ मा अमेरिकी सङ्घीय व्यापार आयोग र न्यूयोर्क महान्यायाधिवक्ता लेटिया जेम्सले लगाएका आरोपहरू मिलाउन १७ करोड डलर जरिवाना तिर्न र केही नीतिहरू परिवर्तन गर्न सहमत भएको थियो ।
यस मुद्दामा लगभग साढे तीन करोडदेखि साढे ४ करोड बालबालिकाहरू संलग्न हुन सक्ने वकिलहरूको दाबी छ जसमध्ये १ देखि २ प्रतिशतले मात्र दाबी दायर गरेको पनि सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।







