नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६औं स्थापना दिवस विभिन्न कार्यक्रमसहित मनाइएको छ ।
उक्त अवसरमा फोनिज झापा जिल्ला शाखाले ‘मिडियामा आदिवासी जनजातिका सवाल’ विषयक अन्तरक्रिया कार्यक्रम बिर्तामोडमा सम्पन्न गरेको हो । कार्यक्रममा मिडियाले आदिवासी जनजातिहरूको सवालमा प्राथमिकता दिइरहेको अवस्था र आवश्यकताका विषयमा केन्द्रित छलफल भएको थियो ।
फोनिज झापाका अध्यक्ष अर्जुन राजवंशीको अध्यक्षता र फोनिज संघीय समिति सदस्य भूमिका फियाक लिम्बुको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पत्रकार, पत्रकारजन्य संघसंस्थाका प्रतिनिधि, नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)का पदाधिकारी, जातीय संगठनका नेतृत्व र सरोकारवाला गरी करिब ५० जनाको सहभागिता थियो ।
फोनिजका पूर्व संघीय उपाध्यक्ष तथा झापाका पूर्व अध्यक्ष दिपिनकुमार राईले विषय प्रस्ट पार्दै राज्यसत्ताले अझै आदिवासी जनजातिका सवाललाई पूर्ण रूपमा बुझ्न नसकेको बताए ।
कार्यक्रममा फोनिजका पूर्व संघीय उपाध्यक्ष कमन देवान, नेफिन झापाका अध्यक्ष पाण्डवलाल चौधरी, नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियार, फोनिज झापाका पूर्व अध्यक्ष इन्द्रजीति मुखियालगायतले धारणा राखेका थिए ।
त्यस्तै नेफिन झापाका उपाध्यक्ष केवलराम राई, पूर्व अध्यक्षहरु प्रेम घिसिङ र भरतकुमार श्रेष्ठ, नेपाल मगर संघ झापाका पूर्व अध्यक्ष जगत राना मगर, नेपाल संथाल आदिवासी उत्थान संघका केन्द्रीय महासचिव कुन्दन मुर्मु, मेचे समाज सिवियारी आफातका केन्द्रिय अध्यक्ष बिरेन मेचे, राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशी, महिला नेतृ सनम राजवंशी, व्यवसायी रमेशकुमार राजवंशी लगायतले पनि धारणा राखेका थिए ।
अन्तरक्रियामा सहभागि फोनिज, नेफिन र जातिय संगठनका नेतृत्वहरुले नेफिन र फोनिजबीचको समन्वयलाई थप सुदृढ गर्दै, संविधानले प्रत्याभूत गरेका अधिकारको कार्यान्वयनमा मिडियाको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक संरचना सुरक्षित गर्न मिडियाले आदिवासी जनजातिका आवाजलाई निरन्तर उजागर गर्नुपर्नेमा उनीहरुले जोड दिएका थिए ।
फोनिज झापाका उपाध्यक्ष तिलक योञ्जनले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव सन्तोष वेघाले गरेका थिए ।







