झापाको अर्जुनधारामा खुला महिला भलिबल प्रतियोगिता हुने भएको छ ।
अर्जुनधारा खेलकुद विकास समितिको आयोजनामा र लक्ष्मी माध्यमिक विद्यालयको सहआयोजनामा मंसिर १७ देखि २१ गतेसम्म अर्जुनधारा-६ स्थित लक्ष्मी माध्यमिक विद्यालयको प्राङ्गणमा प्रतियोगिता हुने आज आयोजित पत्रकार भेटघाटमा आयोजकले जानकारी दिएको हो।
नेपाल भलिबल संघले तोकेको तालिका तथा नियमअनुसार सञ्चालन हुने प्रतियोगितामा राष्ट्रिय खेलाडीसमेत समावेश गर्दै दुई विभागीय टोलीसहित ६ टिम सहभागी हुने समितिका अध्यक्ष सुरेन्द्र धिमालले जानकारी दिए ।
आयोजकका अनुसार विजयी टिमले उपाधिसहित नगद २ लाख, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीलाई १ लाख रुपैयाँ र सेमिफाइनल पुगेका दुई टोलीलाई जनही ३०-३० हजार प्रदान गरिनेछ ।
बिधागत विधातर्फ ‘ह्युमन अफ द म्याच’ शीर्षकमा आठ खेलका उत्कृष्ट खेलाडीलाई ४० हजार, उत्कृष्ट प्रशिक्षकलाई १० हजार, सर्वोकृष्ट खेलाडीलाई १५ हजार र फाइनलका उत्कृष्ट पाँच खेलाडीलाई जनही १० हजार प्रदान गरिने प्रतियोगिताका संयोजक प्रभा लिम्बुले जानकारी दिइन् ।
पत्रकार भेटघाट कार्यक्रममा अर्जुनधारा नगरपालिका प्रमुख बलदेवसिंह गोमदेन, वडा नं.६ का अध्यक्ष हरिस बास्तोला, नेपाल भलिबल संघका उपाध्यक्ष मदन खड्का, झापा गोल्डकपका अध्यक्ष केदार गिरी, विद्यालयका प्रधानाध्यापकलगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन पत्रकार तिलक योञ्जनले गरेका थिए ।







