ठूलो पानी पार्ने प्रणाली केही कमजोर हुँदा देशका धेरै स्थानमा वर्षा भएको छैन । केही स्थानमा सामान्य वर्षा मात्रै भएको छ ।
मौसमविद् प्रतिभा मानन्धरले आज र भोलि ठूलो वर्षा नहुने बताएकी छन् ।
गएराति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा भएको उनी बताउँछिन् । वाग्मती प्रदेशको नुवाकोट, सिन्धुपाल्चोकलगायत स्थानमा पनि वर्षा भइरहेको उनले जानकारी दिइन् ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
राति देशको पहाडी भू-भागमा साधारणतया बदली रही तराई भू-भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानमा तथा तराई भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।







