स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा पुगेको छ ।
गएराति भएको पहिलो सेमिफाइनल खेलमा उपाधिको दाबेदार टोली फ्रान्सलाई २-० गोलले हराउँदै स्पेन १६ वर्षपछि विश्वकप फुटबलको फाइनलमा पुग्न सफल भएको हो ।
अमेरिकाको डलास स्टेडियममा भएको खेलमा स्पेनका लागि पेड्रो पोरो र मिकेल ओयार्जाबलले एक-एक गोल गरे । स्पेनले २२औँ मिनेटमा पेनाल्टीमा गोल गरी अग्रता बनाएको थियो ।
फ्रान्सका लुकास डिनेको फाउलपछि प्राप्त पेनाल्टीलाई मिकेलले गोलमा परिणत गर्दै स्पेनलाई अग्रता दिलाएका थिए ।
स्पेनले दोस्रो हाफको ५८औँ मिनेटमा अग्रता दोब्बर बनायो । उसका पेड्रोले डानी ओल्मोसँग उत्कृष्ट वान टु वान पास खेले र ओल्मोबाट फिर्ता आएको बललाई नियन्त्रणमा लिँदै उत्कृष्ट गोल गरे । त्यसपछि थप गोल हुन सकेन ।
स्पेनले अब उपाधिका लागि अर्जेन्टिना र इंग्ल्यान्डबीचको विजेतासँग खेल्ने छ । दोस्रो सेमिफाइनलमा आज मध्यराति पौने १ बजे इंग्ल्यान्ड र अर्जेन्टिनाले खेल्दै छन् ।







