नारी सञ्चार गृह झापाले आफ्ना नयाँ सदस्यहरूका लागि ‘नारी सञ्चार अभिमुखीकरण तथा पत्रकारिता सीप विकास तालिम’ आयोजना गरेको छ ।
नेपाल पत्रकार महासङ्घ झापा शाखाको कार्यालयमा शनिबार आयोजित एक कार्यक्रमका बीच नयाँ सदस्यहरूलाई स्वागत गर्दै अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरीले पत्रकारिताका आधारभूत विषयमा सहजीकरण गरेका थिए । सो क्रममा उनले सत्य, तथ्य र निष्पक्ष ढङ्गले समाचार सम्प्रेषण गर्न पत्रकारहरू सधैँ संवेदनशील र गम्भीर हुनुपर्ने बताए ।
तालिमका क्रममा नारी सञ्चार गृहकी संस्थापक अध्यक्ष सावित्रा दाहालले संस्थाको विगत, वर्तमान र आगामी दिशाका बारेमा जानकारी गराएकी थिइन् ।
त्यसैगरी निवर्तमान अध्यक्ष रेजिना रोदनले नेपाली मिडियामा महिला पत्रकारको वर्तमान अवस्था, उनीहरूले भोग्नुपरेका चुनौती र अगाडिका सम्भावनाबारे प्रकाश पारेकी थिइन् ।
नारी सञ्चार गृहकी अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षतामा भएको तालिममा नारी सञ्चार गृहकी पूर्व अध्यक्ष भिमा शिवाकोटी, नेपाल पत्रकार महासङ्घ झापाका उपाध्यक्षद्वय सुब्रत न्यौपाने र विनिषा शर्मा तथा सचिव प्रदीप परियार लगायतको आतिथ्यता रहेको थियो ।
उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव दीपा सापकोटाले गरेकी थिइन् ।







