कुनै पनि रोगको निदानपछि चिकित्सकले बिरामीलाई निश्चित औषधि खान सिफारिस गर्छन् । चिकित्सकको प्रेसक्रिप्सनका आधारमा नै फर्मासिस्टले ती औषधि दिने गर्छन् ।
फर्मासिस्टले दिएको जानकारीलाई राम्रोसँग बुझेर मात्र बिरामीले कुनै पनि औषधिको सेवन गर्नुपर्छ । जसमध्ये एक हो, औषधिको राइट ड्युरेशन अर्थात् सही समावधी ।
औषधिमा गोलो लगाएर खाना अघि र पछि खानु भन्नु मात्र फर्मासिस्टको काम होइन । औषधिको सही समावधि बुझाउनु पनि मुख्य जिम्मेवारी हो । बिरामीले पनि आफु खुशी औषधिको समय तोकेर खानु हुँदैन । फर्मासिस्टले दिएको निर्देशन अनुसार नै खानुपर्छ ।
कुनै औषधि दिनमा चार पटक खाने भनिएको छ भने दिनमा ६/६ घण्टाको फरकमा खानुपर्छ । दिनमा चार पटक भनेको छ भने बिरामी आफैँले मनलाग्दी तरिकाले चार पटक खाने होइन । सही समयको ग्याप हुनुपर्छ ।
कुनै औषधि ८/८ घण्टाको फरकमा खान भनिएको छ भने बिरामीले आफ्नो अनुकुल हिसाबले दिनमा तीन पटक खाएमा त्यसले जुन प्रभावकारिताका साथ काम गनुपर्ने हो त्यो नगर्न सक्छ । दिनमा चार पटक भनिएको छ भने ६/६ घण्टामा र दिनमा तीन पटक भनिएको छ भने ८/८ घण्टाको फरक खानुपर्छ ।
औषधिहरु सही ड्युरेशनमा खाइएन भने त्यसले रगत मार्फत शरीरमा गएर जसरी काम गर्नुपर्ने हो त्यो गर्न सक्दैन । सही समावधिमा औषधिमा नखाँदा त्यसले साइड इफेक्ट (नकारात्मक असर) पनि निम्त्याउन सक्छ । त्यसैले परामर्श गर्नेले पनि बिहान, दिउँसो, बेलुका भनेर मात्र नभई समयको सही ज्ञानबारे सही परामर्श गर्न पनि उत्तिकै आवश्यक छ । त्यसैले फर्मासिस्ट आफैँले समय नै किटान गरेर लेखिदिए बिरामीले सोही समयमा आफैँ औषधि खान सकिन्छ ।
दिनमा चार पटक खानु भनेर मात्र हुँदैन । बिरामीले आफ्नो हिसाबले समय नमिलाएर खान नसक्ने हुँदा फर्मासिस्ट आफैँमा यति यति घण्टाको फरकमा औषधि खानु भनेर प्रष्टसँग लेखिदिए बिरामीलाई सही समयमा औषधि खान सहज हुन्छ । स्वास्थ्य खबरपत्रिकाबाट







