पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको काँकरभिट्टादेखि पश्चिम सुनसरी लौकही सडकखण्ड स्तरोन्नतिमा लक्ष्यअनुसार प्रगति देखिएको छैन । यदि यही गतिमा काम हुने हो भने सम्झौता अवधि तीन वर्षभित्र सम्पन्न नहुने अनुमान गरिएको छ ।
काँकरभिट्टादेखि लौकहीसम्मको १२० किलोमिटर सडकमध्ये ९५.७६ किलोमिटर स्तरोन्नति सुरु गरिएको थियो । एसियाली विकास बैङ्कको ८४.९ प्रतिशत ऋण र नेपाल सरकारको १५.१ प्रतिशत लगानी रहेको उक्त योजना सम्पन्न भएपछि काँकरभिट्टा-लौकही सडकखण्ड अन्तर्गत सहरी क्षेत्रमा चार लेनको बीचमा तीन मिटर चौडा डिभाइडर दुवैतर्फ सर्भिस लेन गरी ५० मिटर चौडाइको हुनेछ ।
त्यसैगरी अर्ध सहरी क्षेत्रमा चार लेनमा दुवैतर्फ एक लेन थप गरी ३३ मिटर चौडा सडक हुने र बाँकी भागमा चार लेनको २४ मिटर चौडा सडक हुने जनाइएको छ । काँकरभिट्टा-लौकही सडक योजनालाई काँकडभिट्टा-केर्खा सीतापुरीसम्म ४५ किलोमिटर पूर्वी खण्ड र केर्खा- इटहरीसम्म ५०.७६ किलोमिटर पश्चिमी खण्डमा गरी दुई भागमा विभाजन गरिएको छ । हालसम्म दुवै खण्डको ३० प्रतिशत भौतिक तथा वित्तीय प्रगति हुनुपर्नेमा पूर्वी खण्डको २१.१० प्रतिशत र पश्चिम खण्डको २५ प्रतिशत मात्र प्रगति छ ।
पूर्वी खण्डको काँकरभिट्टा-केर्खा सडक १० अर्ब छ करोडमा इभरस्कोन-कालिका जेभीले वि.सं २०८० कात्तिक २ गते ठेक्का सम्झौता गरी सोही वर्षको माघ १९ गतेदेखि कार्य प्रारम्भ गरेको सो खण्डका इञ्जिनियर आश्रय महतले जानकारी दिए । सो खण्डमा ३०० मिटरभन्दा साना १८ वटा पुलमध्ये १७ वटा निर्माणाधीन छन् भने ६३ वटा कल्भर्ट निर्माण भएका छन् । दुई किलोमिटर ‘ड्रेन’ निर्माण गरिएको छ । आठ किलोमिटर सब-बेस सम्पन्न भएको छ । १.७ किलोमिटर बेस सम्पन्न भएको इञ्जिनियर महतले बताए । यो सडक खण्डको पूरै भाग झापामा पर्दछ ।
विद्युतीय पोल सार्ने र सहरी क्षेत्रमा ‘साइट क्लियरेन्स’ अन्तिम चरणमा रहेको इञ्जिनियर महतले बताए । हाल माटो अभावका कारण माटो भर्न नसक्दा केही ठाउँमा काम हुन नसकेको उनले बताएका हुन् । ३०० मिटरभन्दा लामा निन्दा, बिरिङ र कन्काई पुल निर्माणका लागि कोभेक क्रेग तुँदी जेभीले रु पाँच अर्ब ९७ करोडमा निर्माण गर्ने ठेक्का पाएको छ । हालसम्म उक्त पुलहरुको भौतिक प्रगति १९.३५ प्रतिशत छ ।







