राष्ट्रिय धान दिवसको अवसर पारेर माओवादी केन्द्र मेचीनगरका अध्यक्ष तथा व्यवसायी राजन चिमरियाले विपन्न परिवारलाई झुल वितरण गरेका छन् ।
जेष्ठ नागरिक समाज मेचीनगर नगरपालिका-७ ले आयोजना गरेको रोपाई महोत्सव कार्यक्रमको अवसरमा १०० विपन्न परिवारलाई झुल वितरण गरेका हुन् ।
त्यस्तै कार्यक्रमकाबीच असार १५ को अवसर पारेर जेष्ठ नागरिक समाज मेचीनगरका तर्फबाट सामुहिक दहि चिउराको व्यवस्था गरिएको समाजका अध्यक्ष पिताम्बर पौडेलले जानकारी दिए ।
जेष्ठ नागरिकहरुका लागि सामाजिक व्यक्तित्व चिमरियाले दहि, चिउरा र केरा सहयोग गरेका थिए भने चिमरियाले नै उपलब्ध गराएको झुल स्वयं उपस्थित भएर वितरण गरेका छन् ।
झुल वितरण गर्नु पर्ने स्थानीयहरुको छनौट जेष्ठ नागरिक समाजले नै गरेको थियो । समाजले छनौट गरेका २५ वटा टोलबाट विपन्न एक सय परिवारलाई झुल वितरण गरिएको समाजका अध्यक्ष पौडेलले बताए ।
मेचीनगर नगरपालिका-७ का जेस्ठ नागरिक टिकाराम ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मेचीनगर-७ का वडाध्यक्ष प्रल्हादमणी ओली र माओवादी मेचीनगरका अध्यक्ष चिमरियाले किसानहरुको पक्षमा सिङ्गो समाज उभिनु पर्ने बताए ।
चिमरियाले गत वर्षको असार १५ मा मेचीनगरका ३५० किसानलाई कोदालो वितरण गरेका थिए ।







