झापाको बिर्तामोडमा जंगली हात्तीले दुईवटा शैक्षिक संस्थाको गेट र कम्पाउन्ड वाल भत्काएको छ ।
हात्तीले बिर्तामोड-३ बिर्ताबजारस्थित अनारमनी पव्लिक क्याम्पसको गेट भत्काएको छ भने बिर्तामोड-१० सैनिक बजारस्थित महेन्द्र ज्योति माध्यमिक विद्यालयको कम्पाउन्ड वाल भत्काउनुका साथै गेट बंग्याएको छ ।
बिर्तामोडतिरबाट आएको एकल हात्तीले अनारमनी पब्लिक क्याम्पसको फलामको गेट भत्काउँदा अन्दाजी एक लाख मूल्य बराबरको क्षति भएको छ । सोही ठाउँ बस्ने मनिका माझीको बाँसको टाटीको घेराबारा र टिनको छानो भएको एकतले घर पूर्णरुपमा भत्काएको छ । जसबाट ८५ हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
सोही हात्तीले आज बिहानको राति ३ बजेको बिर्तामोड-१० सैनिक बजारमा रहेको महेन्द्र ज्योति माविको गेट फुटाई गेटबाट भित्र पसेर विद्यालयको पूर्वपट्टिको कम्पाउण्ड वाल भत्काएको छ । हात्तीले वाल र गेट भत्काउँदा करिव ५ लाख बराबरको क्षति भएको विद्यालयका प्रधानानध्यापक जयकुमार झाले जानकारी दिएका छन् ।







