सार्वजनिक यातायात व्यवसायीले भोलिदेखि गाडी थन्काएर सेवा ठप्प पार्ने घोषणा गरेका छन् ।
गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर राइड सेयरिङका नाममा नीजि सवारी साधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिएको भन्दै आन्दोलित व्यवसायीले सोमबारदेखि सवारीसाधन घर र ग्यारेजमा थन्काएर सेवा ठप्प पार्ने घोषणा गरेका हुन् ।
सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात व्यवसायी महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजजुर संघ, एकीकृत समाजवादी यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आइतबार एक संयुक्त विज्ञप्ति जारी गर्दै सेवा ठप्प पार्ने जनाएका छन् ।
गण्डकी प्रदेश सरकारले संविधानको धारा ५७ को उपधारा ६ उपधारा ३ वा ५ र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ बिपरित नीजि सवारीलाई सार्वजनिक यातायात सरह मान्यता दिएको भन्दै व्यवसायी रुष्ट छन् ।
प्रदेश सरकार र संघ सरकारलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै बाध्य भएर सेवा बन्द गर्न लागिएको व्यवसायीको तर्क छ । ‘आजसम्म पनि नेपाल सरकारले सुनुवाइ नगरेको हुँदा बाध्य भइ हाम्रा सवारी साधन मिति २०८२/२/१९ गतेदेखि घर, ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिने निर्णय गरिएको’, विज्ञप्तिमा उल्लेख छ । सेवा ठप्प हुँदा यात्रु तथा सरोकारवाला पक्षलाई पर्न जाने असुविधाको जिम्मा पनि सरकारले लिनुपर्ने उनीहरुको भनाइ छ ।







