झापाको बुद्धशान्ति गाउँपालिका-५ पाँचपोखरी सामुदायिक वनमा जंगली हात्ती मृत फेला परेको छ ।
बुधबार दिउँसो भाले मकुना हात्ती मृत फेला परेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । मृत मकुना (दाह्रा नभएको भाले हात्ती) अन्दाजी ५० वर्षको भएको अनुमान छ ।
यो मकुना करिब दुई महिना अघि घाइते अवस्थामा भेटिएको थियो । पछाडिको खुट्टा र पुच्छरमा संक्रमण देखिएपछि वन कार्यालयको टोलीले उपचारको प्रयास पनि गरेको थियो ।
Advertisement
राम्रोसँग हिँडडुल गर्न नसक्ने भएका कारण हात्ती धेरै टाढा गएको थिएन । बुधबार मृत भेटिएको डिभिजन वन कार्यालय झापा कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले जानकारी दिए । पोस्टमार्टमपछि हात्तीलाई खाल्डो खनेर गाडिएको छ ।







