जिल्ला सहकारी संघ झापाको निर्वाचनको विषयमा निर्वाचन समितिकै कार्य शैलीमाथि प्रश्न उठाउँदै निर्वाचन कार्यालयमा तालावन्दी गरिएको छ ।
जिल्ला सहकारी संघको निर्वाचन भोलि बैशाख १३ गते हुने कार्यक्रम तय भएको थियो । तर निर्वाचन समितिको कार्यशैली प्रति प्रश्न उठाउँदै सहकारी अभियन्ताहरुले निर्वाचन कार्यालयमा शुक्रवार साँझ तालावन्दी गरेका हुन् ।
निर्वाचन समितिले पूर्व निर्धारित निर्वाचन कार्यक्रमलाई एक पक्षीय ढंगले प्रभावित गरेर विना सहमति निर्धारित समय सकिएपछि समेत पटक/ पटक समय थप गरी उम्मेद्वारी दर्ता र उम्मेद्वारी फिर्ता लिने कार्य गरेको भन्दै सहकारी अभियन्ता समेत रहेका दुर्गाप्रसाद सापकोटा लगायतको टोलीले सहकारीको निर्वाचन रोकिनु पर्ने माग राख्दै निर्वाचन समितिको कार्यालयमा तालवान्दी गरेका हुन् ।
निर्वाचन प्रक्रियालाई पटक पटक सार्दै चुनाव प्रचारप्रसारका लागि समेत पर्याप्त समय उपलब्ध नगराएको उनीहरुको आरोप छ । निर्वाचन प्रक्रियालाई स्वच्छ गराउनका लागि विश्वसनीय वातावरण नभएसम्म निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरिएको सापकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच नेपाली कांग्रेस झापाले समेत सहकारीको निर्वाचनका विषयलाई लिएर विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेद्वारा जारी विज्ञप्तिमा झापा जिल्ला सहकारी संघको निर्वाचनको सवालमा सत्तापक्षीय प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमाले झापा जिल्ला नेतृत्व र दुबै दलको सहकारी विभागका बीचमा मिति २०८१ चैत २३ गते भएको लिखित सहमति नेकपा एमाले पक्षबाट उल्लङ्घन गरिएको प्रति आपत्ति रहेको उल्लेख छ ।
सहकारी संघको निर्वाचन समितिले समेत पूर्ब निर्धारित निर्वाचन कार्यक्रमलाई एक पक्षीय ढंगले प्रभावित गरेर विना सहमति निर्धारित समय सकिएपछि समेत पटक-पटक थप उम्मेद्वारी दर्ता र उम्मेद्वारी फिर्ता लिने कार्य गरेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ जारी विज्ञप्तिमा उल्लेख छ ।







