भद्रपुर नगरपालिकाको १५ औं नगरसभाको अवसर पारेर दुई जना पत्रकारसहित आधा दर्जन व्यक्तित्वलाई पुरस्कृत गरिएको छ ।
शनिबारबाट सुरू भएको नगरसभाको समापनको अवसर पारेर आज विकास पत्रकारिता पुरस्कारबाट नगद ३१ हजारसहित द्रोण अधिकारी र प्रोत्साहन पत्रकारिता पुरस्कारबाट सन्तोष शर्मालाई १५ हजार नगदसहित पुरस्कृत गरिएको हो ।
नगर प्रमुख गणेश पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भद्रपुर नगर क्षेत्रमा रहेर खेलको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक प्राप्त क्रिकेटका विपिनकुमार महत्तो, हक्कीका सुदिपकुमार चौधरी, दिपक खतिवडा, भारोत्तोलनकी सोनीदेवी दास, एथलेटिक्सकी सविना राजवंशीलाई जनही दश हजार नगदसहित पुरस्कृत गरिएको थियो ।
यस्तै नगरपालिका स्तरीय नकाउट फुटवल प्रतियोगितामा विजेता भद्रपुर नगरका खेलाडीलाई नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।
नगर उपप्रमुख राधा कार्की, झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, प्रहरी प्रमुख मिलन केसी, प्रेस क्लब भद्रपुरका अध्यक्ष राजबाबु शंकरलगायतले मन्तव्य राखेको कार्यक्रमको सञ्चालन शिक्षा शाखाका योगेन्द्र पौडेलले गरेका थिए ।







