काठमाण्डौ । महिलाको सुरक्षा र अधिकार, सङ्कटकालीन व्यवस्थापन हाम्रो सरोकार भन्ने नाराका साथ आज तेस्रो राष्ट्रिय महिला अधिकार दिवस मनाइँदै छ । २०६३ साल जेठ १६ गते तत्कालीन पुनःस्थापित प्रतिनिधि सभाले महिलाका अधिकारसम्बन्धी महत्त्वपूर्ण ४ वटा ‘विशेष प्रस्ताव’ पारित गरेको थियो ।
नेपाली महिलाको अधिकारलाई कानुनी संरचनाद्वारा सुनिश्चिता गर्ने आधार संसदबाट निर्माण गरिएको दिनको सम्झनामा हरेक वर्षको जेठ १६ गतेलाई राष्ट्रिय महिला अधिकार दिवसका रूपमा मनाउन थालिएको हो ।
दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवि भण्डारीले सरकारका निकाय तथा सार्वजनिक क्षेत्रमा महिलाको सहभागितामा उल्लेख्य बढेको बताइन् ।
महिलाको राजनीतिक, सामाजिक तथा आर्थिक भूमिका पनि थप प्रभावकारी हुँदै आएको राष्ट्रपति भण्डारीको भनाइ छ । त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले महिला तथा किशोरीमाथि हुने हिंसा बलात्कार तथा एसिड आक्रमण जस्ता जघन्य अपराध रोक्न कानुनी व्यवस्था कडाइका साथ लागू गरेको बताएका छन्।
दिवसको अवसरमा शुभकामना दिँदै उनले सबै प्रकारका हिंसा र विभेद अन्त्य गर्न र महिलाका लागि रोजगारी सिर्जना गरी आर्थिक सशक्तिकरणसहित लैङ्गिक समतायुक्त समाज निर्माणमा सबै एक भएर जुट्न आह्वान गरे।







