शिक्षा भनेको केवल पाठ्यपुस्तक घोकेर राम्रो नम्बर ल्याउने प्रक्रिया मात्र होइन । शिक्षा त व्यक्तित्व निर्माण, अनुशासन, जिम्मेवारी र सहअस्तित्व सिकाउने निरन्तर यात्रा हो । विद्यालयमा बालबालिकाले सिक्ने साना-साना बानी, व्यवहार र संस्कारले नै पछि गएर उनीहरू कस्ता नागरिक बन्छन् भन्ने कुरा धेरै हदसम्म तय गर्छ । त्यसैले विद्यालयसँग सम्बन्धित कतिपय विषयहरूलाई तत्कालीन बहसका रूपमा मात्र होइन, हामीले आफ्ना बालबालिकालाई कस्ता मूल्य, संस्कार र जीवनदृष्टि दिइरहेका छौँ भन्ने दृष्टिकोणबाट पनि हेर्न आवश्यक हुन्छ ।
आजभोलि विद्यार्थीहरूको कपाल र विद्यालयको अनुशासनलाई लिएर विभिन्न जिज्ञासा र छलफल भइरहेका छन् । यो विषयमा मेरो धारणा स्पष्ट पार्नु आवश्यक महसुस भएकाले यो लेख्दै छु । मेरो लागि यो विषय कपालको लम्बाइको मात्र होइन, हामी आफ्ना बालबालिकालाई कस्तो सोच, संस्कार र जिम्मेवारी सिकाइरहेका छौँ भन्ने ठूलो प्रश्नसँग जोडिएको छ ।
व्यक्तिगत रूपमा भन्ने हो भने, मलाई पनि कपाल पाल्न मन लाग्छ । एसएलसीपछि मैले पनि केही वर्ष लामो कपाल राखेको थिएँ र सायद सेवाबाट अवकाश लिएपछि फेरि त्यही सोख दोहोर्याउने पनि हो । यसमा अस्वाभाविक केही छैन । व्यक्तिगत रुचि र आत्मअभिव्यक्तिको सम्मान हुनुपर्छ भन्नेमा म पूर्ण रूपमा विश्वस्त छु । तर एउटा यथार्थ पनि छ विद्यालयको गेट पसेपछि म पनि उही नियमभित्र बस्नुपर्छ जुन शिक्षक, कर्मचारी र विद्यार्थी सबैका लागि समान रूपमा लागू हुन्छ । प्रधानाध्यापक भएकै कारणले म संस्थाले तोकेको मापदण्डभन्दा बाहिर हुन सक्दिनँ । किनभने संस्थाको मर्यादा कसैको व्यक्तिगत इच्छाले होइन, सबैले समान रूपमा नियमको सम्मान गर्दा मात्र कायम रहन्छ ।
सभ्य र जिम्मेवार समाजमा अधिकार र जिम्मेवारी एकअर्काका शत्रु होइनन्, बरु एउटाले अर्कोलाई अर्थ दिन्छ ।
यसलाई अझ सजिलो गरी बुझौँ । नाच्न पाउनु सबैको अधिकार हो । तपाईंलाई जहाँ मन लाग्यो त्यहीँ नाच्न पाउनुहुन्छ । तर एउटा आधारभूत सर्त छ, तपाईंको स्वतन्त्रताको अभ्यासले अरूको स्वतन्त्रतामा हस्तक्षेप गर्नु हुँदैन । तपाईं नाच्दा अर्को व्यक्तिको हिँड्ने बाटो अवरुद्ध हुनु हुँदैन, अरूलाई ठोक्किनु हुँदैन । किनभने स्वतन्त्रता त्यतिबेलासम्म मात्र सुन्दर हुन्छ, जबसम्म त्यसले अरूको ठाउँ, अधिकार र साझा व्यवस्थालाई सम्मान गर्छ ।
विद्यालय पनि उस्तै साझा संस्था हो । यहाँ फरक-फरक परिवार, संस्कार र सोचबाट आएका बालबालिका एउटै कक्षामा बस्छन्, एउटै मैदानमा खेल्छन् र एउटै वातावरणमा सिक्छन् । त्यसैले सबैलाई समान, सुरक्षित र सम्मानजनक वातावरण दिनका लागि केही साझा मापदण्ड आवश्यक हुन्छन् । पोशाक, समयपालन वा साजसज्जासम्बन्धी नियम कसैको स्वतन्त्रता सीमित गर्न बनाइएका होइनन्, यी त सबैले समान अवसर र मर्यादित वातावरणमा सिक्न पाउने आधार हुन् ।
विश्वका विभिन्न देश र विद्यालयहरूमा विद्यार्थीहरूको साजसज्जासम्बन्धी मापदण्ड फरक-फरक हुन सक्छन् । कतिपय विद्यालयहरूमा लामो कपाल पनि स्वीकार्य हुन्छ भने कतिपयले आज पनि निश्चित ड्रेस कोड तथा साजसज्जासम्बन्धी मापदण्डलाई प्राथमिकता दिएका छन् । त्यसैले प्रश्न कपालको शैली वा कुनै देशको अभ्यासको होइन, प्रश्न आफू अध्ययन गरिरहेको संस्थाले निर्धारण गरेका साझा मापदण्डको सम्मान गर्ने संस्कारको हो । विद्यालय मात्र यस्तो ठाउँ होइन जहाँ नियम पालना गर्नुपर्छ । विश्वविद्यालय, अस्पताल, अदालत, सरकारी कार्यालय, सेना, प्रहरी वा कुनै पनि विभागीय तथा व्यावसायिक संस्थामा आ-आफ्नै आचारसंहिता र मापदण्ड हुन्छन् । ती नियमसँग सहकार्य गर्दै आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्न सक्नु नै जीवनमा काम लाग्ने महत्त्वपूर्ण सीप हो, जुन विद्यालयबाटै सुरु हुन्छ ।
हाम्रो उद्देश्य विद्यार्थीलाई केवल परीक्षामा राम्रो नम्बर ल्याउने व्यक्ति बनाउनु मात्र होइन । हामी उनीहरूलाई अधिकार बुझ्ने, कर्तव्य निभाउन सक्ने, अनुशासित, संवेदनशील र आफूभन्दा ठूलो उद्देश्यका लागि जिम्मेवार बन्न सक्ने नागरिकका रूपमा विकास गर्न चाहन्छौँ । यदि विद्यालयले यति गर्न सकेको छ भने, त्यो कुनै पनि परीक्षाको नतिजाभन्दा ठूलो उपलब्धि हुनेछ । त्यसैले यो बहस कपालको लम्बाइको होइन, यो संस्थागत मर्यादा, साझा अनुशासन र हामीले आफ्ना बालबालिकालाई दिन खोजिरहेको जीवनदृष्टिको बहस हो । आज विद्यालयमा सिकेको अनुशासनले नै भोलि उनीहरूलाई समाज, राष्ट्र र जुनसुकै संस्थाप्रति जिम्मेवार नागरिक बन्ने आधार तयार गर्छ ।
मेरो जीवनदर्शनको एउटा आधारभूत विश्वास
“स्वतन्त्रताको वास्तविक सौन्दर्य मन लागेको सबै कुरा गर्नमा होइन, आवश्यक पर्दा आफूलाई मर्यादाभित्र राख्न सक्ने अनुशासनमा हुन्छ ।” (लेखक शर्मा झापाको बिर्तामोडमा अवस्थित एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीका प्रिन्सिपल रहेका छन्)







