मुद्रण उद्योग संघ झापाका अध्यक्ष रोहितकुमार भट्टराईले आफ्नो जन्मदिनको अवसर पारेर संघले स्थापना गरेको सदस्य राहत अक्षयकोषमा रकम हस्तान्तरण गरेका छन् ।
बिर्तामोडमा सोमबार एक कार्यक्रमका बीच उनले नगद २५ हजार १०५ रुपैयाँ संघको अक्षयकोष बृद्धिका लागि हस्तान्तरण गरेका हुन् । सामाजिक संघसंस्थामा अक्षयकोष अपरिहार्य रहेको बताउँदै उनले मुद्रण उद्योगमा आबद्ध सदस्यहरुको हितका निम्ति स्थापित कोषमा रकम प्रदान गरेको बताए ।
उनको आह्वानपछि तत्काल संघका सदस्य भीष्मराज राजवंशीले नगद ५ हजार ५ रुपैयाँ कोषमा थप गरेका छन् भने विनोद दाहालले १५ हजार रुपैयाँ, अर्जुन थापाले ११ हजार १०० रुपैयाँ र पुण्यप्रसाद खतिवडाले ५ हजार १०० रुपैयाँ अक्षयकोषमा थप गर्ने घोषणा गरेका हुन् ।
कार्यक्रममा संघका सहसचिव तथा अक्षयकोष कार्यविधि निर्माण समितिका संयोजक टंक निरौलाले अक्षयकोषले गर्ने कामका बारेमा प्रस्ट पार्दै अक्षयकोषमार्फत शोकमा रहेका सदस्यलाई समवेदनासँगै सहयोग गर्ने, दैवी प्रकोप तथा दुर्घटना परेमा सहयोग गर्ने, सदस्यको क्षमता विकासका लागि तालिम सञ्चालन गर्ने, ज्येष्ठ मुद्रण उद्योगी तथा मजदुरलाई सम्मान गर्ने लगायत कार्य गर्ने उद्देश्य राखिएको बताए ।
संघका अध्यक्ष रोहितकुमार भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मुद्रण उद्योग संघका केन्द्रीय सदस्य गोविन्द्र निरौलाको प्रमुख आतिथ्यता रहेको थियो
संघका उपाध्यक्ष याम थुलुङले स्वागत गरेको कार्यक्रमको सञ्चालन संघका सचिव भानु खनालले गरेका थिए ।







