झापाली पत्रकार महिलाहरुको साझा संस्था नारी सञ्चार गृहले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षय कोषमा ५० लाख रुपैयाँ पुगेको छ ।
बिर्तामोडमा आज आयोजित एक कार्यक्रमका बीच पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा संस्थाकी अध्यक्ष रेजिना गौतमले कोषमा ५० लाख पुगेको घोषणा गरेकी थिइन् ।
२०६९ सालमा स्थापना भएको संस्थाले पत्रकार महिलाहरुको स्वास्थ्योपचार, लेखनवृत्ति तथा प्रोत्साहनका लागि अम्बिका भण्डारी अध्यक्ष रहेको बेला अक्षय कोषको सुरुवात गरेको थियो । २०७५ सालदेखि सुरु भएको अक्षय कोषमा हाल ५१ लाख ५१ हजार रुपैयाँ पुगिसकेको संस्थाकी कोषाध्यक्ष स्वास्तिका आचार्यले जानकारी दिइन् ।
कोषमा संस्थागत तथा व्यक्तिगत सहयोग प्राप्त हुँदै आएको र एक करोड रुपैयाँको अक्षय कोषको लक्ष्य राखिएको अक्षय कोष व्यवस्थापन तथा परिचालन समितिकी संयोजक जोस्ना श्रेष्ठले बताइन् ।
उक्त कार्यक्रमकै बीच अक्षय कोषलाई आर्थिक सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको छ । कोषमा पछिल्लो समय सहयोग गर्ने दाताहरुलाई पूर्व राष्ट्रपतिबाट सम्मानपत्र प्रदान गरिएको हो ।
यसैबीच सोही कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीबाट नारी सञ्चार गृहले प्रकाशन गरेको सञ्चारमा नारी पुस्तक विमोचन गरिएको छ ।







