मेचीनगरमा जारी स्वास्थ्य शिविर अन्तरगत तेस्रो दिन आज मेचीनगर-१२ मा सम्पन्न भएको छ ।
मेचीनगर-१२ स्थित वडा कार्यालयमा आयोजना गरिएको एक्सरे विधिबाट सक्रिय क्षयरोग खोज पड्ताल तथा नि:शुल्क स्वास्थ्य परीक्षण शिविरमा ३६२ जनाले उपचार सेवा लिएका छन् ।
शिविरमा ३६२ जना मध्ये ३५७ जनाले क्षयरोग पहिचानका लागि एआई प्रविधिबाट छातीको एक्सरे परीक्षण गरेका थिए ।
नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाका अनुसार ३६२ जनामध्ये चार जना क्षयरोगीलाई शिविरमा नै उपचार गरिएको छ । ७५ जनाको खँकार परीक्षणका लागि नमूना लिएको उनले बताइन् । शिविरमा सुगरको ग्लुकोजको मात्रा जाँच गरिएकोमा ५९ जनाको प्रि-मधुमेह देखिएको छ ।
त्यस्तै मिर्गौलाका लागि पिसावमा प्रोटिनको जाँच गर्दा ११ जनामा पोजेटिभ देखिएको छ । शिविरमा एआई विज्ञ डाक्टर विनोद मण्डल, मेडिकल अधिकृत डाक्टर विकास दास, रेडियोग्राफरसहितको प्राविधिक टिम उपचार सेवामा खटिएका छन् ।
एआई प्रविधिबाट छातीको एक्सरे परीक्षण गरिरहेको छ । नगरपालिकाले उक्त प्रविधिबाट गर्भवती र १५ वर्षमुनीका बाहेकालाई यो उपचार सेवा प्रदान गरिरहेको छ ।
नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले अहिलेलाई बाहिरबाट क्षयरोग पहिचानका लागि एआई प्रविधिबाट छातीको एक्सरे परीक्षणको मेसिन ल्याएर यो सेवा प्रदान गरिएको बताए ।
मेचीनगरको अब एउटा वडामा मात्र उक्त शिविर बाँकी छ । जसमा सोमबार मेचीनगर-१५ नम्बर वडा स्थित स्वास्थ्य केन्द्रमा उक्त शिविर हुनेछ ।







