हुलाकी राजमार्गको पूर्वी खण्ड झापाको झापा गाउँपालिका-२ र गौरीगञ्ज गाउँपालिका-१ जोड्न कन्काई पुलको निर्माण गएको १३ वर्षदेखि अलपत्र परेको छ ।
वि.सं.२०६८ मा निर्माण सम्झौता भएको पुल अहिलेसम्म पनि नबन्दा स्थानीयवासीले सास्ती बेहोर्न परेको छ । यो पुल निर्माण सम्पन्न भएको भए झापा र कोशी प्रदेश राजधानी विराटनगरबीचको यातायात सहज हुने थियो । यो पुल निर्माण सम्पन्न नहुँदा यस क्षेत्रको व्यापार व्यवसाय तथा पर्यटन प्रवर्द्धनमा समेत असर परेको छ ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीका अनुसार २०६८ जेठ ३० गते चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीलाई ठेक्का दिइएको थियो । वि.सं.२०७२ को जेठ २९ मा काम सक्नुपर्ने समयसीमा तोकिएको भए पनि अहिलेसम्म पुलको ५८ प्रतिशत भौतिक प्रगति भएको छ ।
पाँच पटकसम्म ठेक्काको म्याद थप गरिए पनि निर्माणमा गति आउन नसकेको कार्यालयका सूचना अधिकारीसमेत रहेका इन्जिनियर प्रभात किरण राईले जानकारी दिए । उनका अनुसार पाँचौं पटक थप भएको म्याद वि.सं. २०८० को असारमा सकिएको थियो ।
पुल निर्माणको काममा प्राविधिक त्रुटि देखिएपछि कार्यालयको अनुरोधमा पुल्चोक इन्जिनियरिङ क्याम्पसको विशेषज्ञ टोलीले अध्ययन गरी सुझावसहितको प्रतिवेदन बुझाएको छ ।
प्रतिवेदनअनुसार देखिएका समस्याको समाधान गरी काम अगाडि बढाउन पटक-पटक निर्देशन दिइए पनि निर्माण कम्पनीले काम शुरुआत नगरेको इन्जिनियर राईले बताए ।
उहाँका अनुसार अझै पनि काम शुरू गर्न आनाकानी गरिराख्ने हो भने ठेक्का रद्द गरी नयाँ प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ ।







