इलामको सन्दकपुर गाउँपालिका-५ जमुनामा बोलेरो दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।
गए राति १०:४५ बजेको समयमा सन्दकपुर-५ सापकोटा गाउँस्थित भित्री कच्ची सडकखण्डमा बिप्ल्याटेबाट जमुनातर्फ जाँदै गरेको प्र.१-०३-००१ च ००६९ नम्बरको गोरु लोड गरेको बोलेरो पिकअप गोलाइ मोड्ने क्रममा आफै अनियन्त्रित भइ बाटोदेखि अन्दाजी ६० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा गाडीका सहचालक इलाम नगरपालिका-५ बस्ने अन्दाजी २२ वर्षका तोया घिमिरेको मृत्यु भएको हो । इलाम अस्पतालबाट थप उपचारको लागि झापा ल्याउने क्रममा बिहान २ बजे उनको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी प्रकाश जवेगूले जानकारी दिए ।
दुर्घटनामा गाडी चालक इलाम-४ बस्ने २० वर्षीय अभिषेक तिवारी घाइते भएका छन् । ढाड र घुँडामा चोट लागेका तिवारीको अबस्था सामान्य रहेको छ । गाडी तत्काल घटनास्थलमा नै रहेको र गोरुहरु सकुशल रहेको डीएसपी जवेगूले बताए ।







