मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज पदबाट राजीनामा दिँदै हुनुहुन्छ । मुख्यमन्त्री शाक्यले प्रदेशसभा सचिवालयमा विश्वासको मत नपाउने निश्चित जस्तै भएपछि उहाँले पदबाट राजीनामा दिने तयारी गर्नु भएको हो ।
उहाँले आज प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनामा दिने तयारी गर्नु भएको हो ।
प्रदेशसभामा पाँच दलीय गठबन्धनको सरकार गठन गर्नका लागि बाटो खुल्ला गरिदिन पनि उहाँले राजीनामा दिन लाग्नु भएको हो । प्रदेशमा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा वाग्मती प्रदेश सरकार गठन हुने भएको छ । उहाँको पार्टीसँगै नेपाली कांग्रेस, नेकपा माओवादी लगायतका दलको सहभागितामा वाग्मती प्रदेश सरकार गठन हुन लागेको हो ।
वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको प्रस्तावमा बुधबार प्रदेशसभामा मत विभाजन गरिने कार्यतालिका थियो । दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत विभाजनका गर्न सबै तयारी पूरा गरिएको भए पनि राजीनामा दिएर नयाँ सरकार गठन गर्नका लागि उहाँले बाटो खोलीदिनु भएको हो ।
मुख्यमन्त्री शाक्यले राखेको विश्वासको प्रस्ताव गत ४ मा प्रदेशसभामा टेबुल गरिएको थियो । सत्तारूढ एमाले र विपक्षी गठबन्धनको आन्तरिक विवादका कारण सभामुख सानुकुमार श्रेष्ठले मत विभाजन प्रक्रिया दुई पटक सार्नु भएको थियो । प्रदेशसभामा हाल सत्तापक्ष एमालेका ४३ सांसद छन् ।







