काठमाडौँ । ‘गेट अफ हेल’ अर्थात् ‘नर्कको द्वार’ भनेर चिनिने एउटा रहस्यमय गुफाको अनुसन्धान थालिएको छ । ‘नर्कको इनार’ पनि भनिने यो गहिरो गुफा यमनमा रहेको छ । यसभित्र त्यस्तो रहस्य के छ भनी पत्ता लगाउन पहिलोपल्ट एउटा अध्ययन टोली गुफाभित्र पसेको हाे ।
प्राकृतिक आश्चर्यका रूपमा लिइँदै आएको यो गुफा करिब ३० मिटर चौडा र ११२ मिटर गहिरो छ । स्थानीय मानिसहरु लामो समयदेखि यो गुफाबाट टाढा रहँदै आएका थिए । यसको मुख सानो छ भने भित्र फराकिलो छ । र फेदमा पानी चुहिरहने, मोती बनिरहने देखिएको छ । हरियाे काइ जमेकाे देखिने गुफाकाे समग्र रङ भने खैराे रहेकाे छ ।
सदियौँदेखि यस गुफाले कुनै पनि इच्छा पूरा गरिदिनसक्ने शक्ति भएको ‘जीनी’ भनिने लोककथाको काल्पनिक पात्रलाई आश्रय दिँदै आएको किंवदन्ती रहेको छ । यसलाई स्थानीयहरुले कुवामा बस्ने जीनीहरु अर्थात् भूतहरुको घर (जेल) का रुपमा समेत वर्णन गर्ने गरेका छन् ।
धेरै स्थानीयहरु यस विशाल गुफाको भ्रमण तथा अवलोकन गर्न डराउँछन् । यसको बारेमा कुरा गरिरहेको अवस्थामा मात्र पनि यसले दुर्भाग्य निम्त्याउँछ भन्ने उनीहरु मान्दछन् । र गुफामा दुष्ट आत्माहरुको उपस्थिति हुने बारेमा कथाहरु बुनिएका छन् । यसको गहिराइबाट उठेको दुर्गन्ध र विषाक्त गन्धहरुका कारण उक्त कथाहरु र डरलाई बल दिएको पाइन्छ ।







