बिर्तामोड । झापाको बिर्तामोडस्थित बालकल्याण आवासीय माध्यमिक विद्यालयको कक्षा–४ मा अध्ययनरत एलिजा घिमिरे कहिले विद्यालय खुल्छ भन्ने पर्खाइमा छिन् ।
आगनसँग जोडिएको विद्यालयमा १६ महिनादेखि उनका पाइला परेका छैनन् । उनलाई आफ्नै विद्यालय विरानो जस्तो लाग्न थालिसक्यो । विद्यालयको बन्द मुल ढोकामा सधैँ उनका आँखा ठोकिन्छन् । कतै खुलिपो हाल्छ कि भन्ने पनि लाग्छ । अभिभावकले अहिले स्कूल खुल्दैन भनेर उनलाई सम्झाइरहेका छन् ।
एलिजा जस्तै मेचीनगरको बाल सुबोधिनी माध्यमिक विद्यालयकी कक्षा–८ की छात्रा आस्था सुवेदीलाई पनि विद्यालय चाँडै खुलोस् भन्ने लागेको छ । विद्यालय कहिले खुल्छ भन्ने एलिजा र आस्था जस्ता धेरै बालबालिकाको जिज्ञासा अभिभावकले मेटाउन सकेका छैनन् । नत उनीहरुलाई पढाउने शिक्षक शिक्षिकालाई थाहा छ । कोरोना भाइरसको बढ्दो संक्रमणले एलिजा र आस्था जस्ता हजारौँ बालबालिका विद्यालय शिक्षाको अवसरबाट टाढा छन् ।
बालबालिकाको उमेर पढ्ने र खेल्ने हो । नाचगान गर्न र चित्र कोर्न पनि बालबालिका मनपराउँछन् । यी र यस्ता नियमित प्रक्रियाबाट वञ्चित भएका बालबालिकाको ध्यान मोबाइल र टिभीमा छ । यसको असर विस्तारै देखिँदैछ । खेल्ने, पढ्ने र रमाउने बाल चाहना चौघेराभित्र सीमित हुँदा बालबालिकाको मानसिक अवस्था कमजोर बन्दै गएको मेचीनगरको बाल सुबोधिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक विश्व थापा बताउँछन् । स्पिक कर्नरबाट साभार







