त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका शिक्षक तथा कर्मचारीबाट १६ करोड ५० लाख असुलउपर गरेको छ ।
त्रिवि रजिष्ट्रारको कार्यालयअन्तर्गत कर्मचारी प्रशासन महाशाखाका अनुसार हालसम्म ७५ वटा अवस्थाबाट करिब १६ करोड ५० लाख असुलउपर भइसकेको छ ।
त्रिविले अध्ययन बिदापछि सेवामा नफर्किएका तथा फर्किएर तोकिएको सेवा अवधि पूरा नगरेका शिक्षक तथा कर्मचारीबाट रकम असुलउपर गर्ने प्रक्रिया अघि बढाएको थियो ।
त्यस्तै थप अवस्थाहरूको हिसाबकिताब तयार गर्ने तथा अभिलेख खोजी गर्ने काम भइरहेको विश्वविद्यालयले जनाएको छ । उपलब्ध विवरणअनुसार हिसाबकिताब भएका अवस्थामा करिब २१ करोड ५० लाख रकम रहेको उल्लेख छ ।
विश्वविद्यालयका अनुसार सम्पर्कमा आएका शिक्षक तथा कर्मचारीका व्यक्तिगत अभिलेख खोजी तथा अध्ययन गर्ने काम भइरहेको छ । त्यस्ता व्यक्तिबाट विश्वविद्यालयलाई बुझाउनुपर्ने रकम असुलउपर गर्ने प्रक्रिया पनि जारी रहेको छ ।
त्रिविले अध्ययन बिदा उपभोग गरेपछि नियमअनुसार सेवामा नफर्किएका वा तोकिएको अवधि पूरा नगरेका शिक्षक तथा कर्मचारीलाई आगामी पुस मसान्तभित्र रजिष्ट्रारको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।







