झापा गाउँपालिकासँग सम्झौता भएसँगै जिल्लाका १५ वटै पालिकामा स्वास्थ्य बिमा लागू भएको छ ।
भदौ १ गते झापा गाउँपालिकामा स्वास्थ्य बिमा लागू गर्ने सम्झौता भएको हो ।
यसअघि जिल्लाका १४ वटा पालिकामा स्वास्थ्य बिमा लागू भएर झापा गाउँपालिकामा बिमा कार्यक्रम सञ्चालन भएको थिएन । झापा गाउँपालिकाले सम्झौता गरेसँगै जिल्लाभरि नै स्वास्थ्य बिमा लागू भएको बिमा बोर्ड झापा शाखाकी प्रमुख लक्ष्मी कँडेलले बताइन् ।
Advertisement
२०७४ सालमा पहिलो पटक भद्रपुर नगरपालिकाले स्वास्थ्य बिमा लागू गरेको थियो । त्यसपछि अन्य पालिकाहरुले बिमा कार्यक्रम सञ्चालन गरेका थिए ।
झापाका ७६ प्रतिशत नागरिकले स्वास्थ्य बिमा गरेको कार्यालय प्रमुख कँडेलले बताइन् । ७ लाख ५६ हजार २४ जनाले शुल्क तिरेर स्वास्थ्य बिमा गरेका छन् भने ५० हजार ४७६ जना ज्येष्ठ नागरिकको नि:शुल्क स्वास्थ्य बिमा गरिएको छ ।







