ताप्लेजुङको फुङलिङ नगरपालिका-८ मा बालबालिका र ज्येष्ठ नागरिकले नि:शुल्क एम्बुलेन्स सेवा पाउने भएका छन् ।
५ वर्षमुनि र ६० वर्षमाथिका नागरिकले जिल्ला अस्पतालमा उपचार गराउन जाँदा नि:शुल्क एम्बुलेन्स सेवा पाउने भएका हुन् ।
फुङलिङ-८ ले वार्षिक बजेटअन्तर्गत एक आर्थिक वर्षका लागि आफ्ना जनतालाई यस्तो सेवा प्रवाह प्रारम्भ गरेको वडाध्यक्ष क्षितिज सुनुवारले बताए । उनका अनुसार उमेर हद तोकिएका नागरिकले अस्पताल जानका लागि वडाध्यक्ष, वडा सदस्य, वडा कार्यालय वा वडाले तोकेका एम्बुलेन्स चालकसँग सम्पर्क गरेमा तत्काल सेवा पाउने छन् ।
त्यस्तै अन्य नागरिक हिँडेर पनि जान सक्ने भएकाले बालबालिका र वृद्धवृद्धा लक्षित कार्यक्रम राखिएको उनको भनाइ छ । वृद्धवृद्धा र बालबालिकालाई अस्पतालको पहुँचमा पुग्न समस्या भएको र कतिपयले खर्चका कारण अस्पताल नगई बसेको पाइएकाले यस्तो सेवा प्रारम्भ गरिएको अध्यक्ष सुनुवारले बताए ।







