मानव बेचबिखनमा संलग्न भएको आरोपमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले झापाको कमल गाउँपालिका-१ घर भएका ५४ वर्षीय बुद्धिराज न्यौपानेलाई पक्राउ गरेको छ ।
ग्रिनकार्डको प्रलोभन देखाएर मौरिसस पुर्याई मानव बेचबिखन गरेको आरोप उनीमाथि लागेको छ । मानव बेचबखिन अनुसन्धान ब्यूरोको टोलीले उनलाई सोमबार काठमाडौँको गोकर्णेश्वर नगरपालिका-७ गौरीघाटबाट पक्राउ गरेको हो ।
उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको ब्यूरोका प्रवक्ता तथा एसपी गौतम मिश्रले बताए ।
उनले आर्थिक अवस्था कमजोर भएकी एक महिलालाई मासिक ७० हजार कमाई हुने भन्दै मौरिसस पठाइदिने र केही समयमै ग्रिनकार्ड मिल्ने आश्वासन दिएका थिए । ती महिलाबाट उनले २ लाख ५० हजार रुपैयाँ समेत लिएको खुलेको छ । ती महिलालाई नेपालबाट भारतको दिल्ली हुँदै २०८० माघ १३ गते मौरिसस पुर्याएका थिए ।
पूर्वयोजना अनुसार मौरिससस्थित एअरपोर्टमा ती महिलालाई एक मौरिसस नागरिकले रिसिभ गरेका थिए । मौरिसस नागरिकले भने नेपाली महिलालाई न्यौपानेमार्फत आफूले खरिद गरेको भन्दै दैनिक १८ घण्टासम्म काममा लगाउने र चरम यौन र श्रमशोषण गरेको आरोप छ ।
मौरिसस नागरिकको घरबाट फरार भई उनी पोर्चुगलमा रहेको नेपाली नागरिकको सहयोगमा २०८१ असार २० गते नेपाल आएर ब्युरोमा जाहेरी दिएकी थिइन् । त्यसपछि न्यौपानेलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको ब्युरोले जनाएको छ ।







