इलामको रोङ गाउँपालिकाले पालिकाका नागरिकलाई हरेक हिसाबले पालिकासँग जोड्ने काम गर्दै आएको छ ।
पालिकाले आवश्यकता अनुसार बजेट विनियोजन गरी काम गर्नका लागि नागरिकका सुझाव लिन थालेको हो ।
आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट निर्माणको समयमा आफ्ना नागरिकले गाउँपालिकामा के कस्तो अपेक्षा राखेका छन् भन्ने जनभावना गाउँपालिकाले समेट्ने गरी अनलाइन पोर्टलमार्फत सुझाव सङ्कलन गर्न थालेको गाउँपालिका अध्यक्ष मणिकुमार स्याङबोले जानकारी दिए ।
अनलाइन पोर्टलमा गाउँपालिकाले सञ्चालन गर्नुपर्ने विकास निर्माण, लागु गर्ने नीति नियममा नागरिकले निर्धक्क सुझाव राख्न सक्ने र नागरिककै इच्छा अनुसार सुझाव कर्ताको गोपनियता कायम रहने प्रबन्ध मिलाइएको छ । नागरिकहरुले राखेको हरेक सवाललाई विषयगत समितिमा छलफल गरिने र औचित्य पुष्टि भएमा गाउँपालिकाको कार्यक्रममा समावेश गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल तिखत्रीले बताए ।







