ताप्लेजुङको फुङ्लिङ नगरपालिका-६ स्थित छिरिङ नेपाली हाते कागज उद्योगका सञ्चालक पासाङ लाक्पा शेर्पा अधिकांश समय आफ्नै उद्योगमा कागज बनाउने काममा व्यस्त भेटिन्छन् ।
पुख्र्यौली पेसाका रुपमा शेर्पाले नेपाली हाते कागज बनाउने काम गर्दै आएका हुन् । उनका बुबाले कागज बनाउने काम गर्थे । कागज उद्योगमा हुर्किएका उनले पनि बुबाआमालाई सघाउँदा सघाउँदै कागज बनाउने सीप सिके । शेर्पाको पुख्र्यौली घर भोजपुर जिल्ला हो । उनले २०४९ सालमा तेह्रथुम जिल्लाको वसन्तपुर क्षेत्रमा कागज उद्योग सञ्चालन गरेका थिए । त्यसपछि ताप्लेजुङको याम्फुदिन, खेवाङ क्षेत्रमा कागज उद्योग सञ्चालन गरे । २०६१ सालमा ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नजिकै छिरिङ हाते कागज उद्योग दर्ता गरेर अहिले सञ्चालन गर्दै आएका छन् । अहिले उनको कागज उद्योगमा १० जनाले रोजगारी पाएका छन् ।
कागज उद्योगबाट खर्च कटाएर वार्षिक रु १२ लाख आम्दानी हुने गरेको शेर्पाले बताए । उद्योगकै आम्दानीले छोराछोरीको पढाइमा खर्च गरी बचतबाट सदरमुकाममा जग्गा खरिद गरेका छन् । अहिले उनी घर बनाउने तयारीमा छन् । शेर्पाको उद्योगको उत्पादन ९० प्रतिशत काठमाडौँ हुँदै जापान, चीन, जर्मनलगायत देशमा निर्यात हुने गरेको छ । जिल्लाका सरकारी तथा गैरसकारी कार्यालयलाई वार्षिक रु चार लाख बराबरको कागज बिक्री गर्ने गरेको शेर्पाले बताएका छन् ।
शेर्पाले घरेलु कार्यालयमा उद्योग दर्ता गरी नेपाली कागज उत्पादन गरेको पाँच वर्ष भइसकेको छ । “कागज जति उत्पादन गरे पनि बिक्रीका लागि समस्या छैन”, शेर्पाले भने, “बरु कागज उत्पादनका लागि कच्चापदार्थको अभाव हुने गरेको छ ।”







