झापाको बिर्तामोड नगरपालिका वडा नं.७ का वडाध्यक्ष कृष्ण खरेल र कार्यपालिका सदस्य लक्ष्मी खतिवडामाथि आक्रमण गर्नेविरुद्ध उजुरी दर्ता भएको छ ।
उनीहरुले आक्रमणमा संलग्नलाई कानुनी कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दर्ता गराएका हुन् । वडा नं.७ कै देउनिया घाटमा मलामी घर निर्माणका क्रममा वडाध्यक्ष खरेल र कार्यपालिका सदस्य खतिवडामाथि स्थानीय गणेश कालिकोटे, नन्दु उप्रेती र दाताराम आचार्यले भौतिक आक्रमण गरेका थिए ।
उप्रेतीले वडाध्यक्ष खरेललाई छातीमा आक्रमण गरेको स्थानीयले बताए । कार्यपालिका सदस्य खतिवडालाई कालीकोटे र आचार्यले हातपात गरेका थिए । स्थानीय होम आचार्यको सिमानासँग जोडिएको उक्त घाटमा आचार्यले नै अरुलाई उक्साएर तनाव सिर्जना भएको जनाइएको छ ।
उनीहरुले मलामी घर निर्माणको विरोध गर्दै आएका छन् । ऐलानी जग्गामा रहेको खाली झुप्रो घर हटाएर मलामी घर निर्माण गर्न लागेपछि उनीहरु आक्रोशित भएका हुन् । खाली झुप्रोका घरधनीलाई यसअघि नै नगरपालिकाले घर बनाइदिएर अन्यत्र सारेको छ ।
मलामी घर निर्माणका लागि यस आर्थिक वर्षमा ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको र काम अघि बढाउँदा आक्रमण भएको वडाध्यक्ष खरेलले बताएका छन् ।







