बिहान उठ्नेबित्तिकै खाली पेटमा के खाने भन्ने जिज्ञासा हामीमध्ये धेरैमा हुन सक्छ । बिहान सबेरै कतिपयले तातो पानी, कसैले कागती पानी, कसैले मेथी पानी त कसैले चिया वा कफी पिउने गर्छन् ।
राति ८-१० घण्टाको उपवासपछि शरीरमा पानीको कमी हुन्छ, पाचन एन्जाइमहरू सुस्त हुन्छन् र आन्द्राको गति कम हुन्छ। यस अवस्थामा सर्वप्रथम शरीरमा पानीको मात्रा पूर्ति गर्नु आवश्यक हुने पेट तथा कलेजो रोग विशेषज्ञ डा. खलिल मियाँ बताउँछन् ।
बिहान उठ्नेबित्तिकै खाली पेटमा चिया वा कफी नपिउन उनी सुझाव दिन्छन् । यसमा हुने क्याफिन र एसिडले ग्यास्ट्रिक बढाउँछ। एसिडका कारण पेट दुख्ने र अम्लीयपना जस्ता समस्या निम्तिन सक्छन् ।
यसका साथै बिहान उठ्नेबित्तिकै खान नहुने केही खानेकुराहरू निम्नानुसार छन्:
खान नहुने खानेकुराहरू:
अमिलो फलफूल: कागती, सुन्तला र भोगटे जस्ता अमिला फलफूलले पेटमा एसिड बढाउँछन् ।
चिसो पेय पदार्थ: आइस टी वा चिसो जुसले पाचन प्रक्रियालाई सुस्त बनाउँछन् ।
धेरै मसलादार खानेकुरा: खुर्सानी र गरम मसलाले पेटको भित्री पत्रमा जलन गराउँछन् ।
चिया र कफी: यसमा हुने क्याफिनले ग्यास्ट्रिक र छाती पोल्ने समस्या निम्त्याउँछ ।
काँचो सागसब्जी: काँचो सलादमा हुने फाइबरले खाली पेटमा अपच गराउन सक्छ ।
गुलियो र बेकरी आइटम: डोनट, केक वा बिस्कुटले रगतमा चिनीको मात्रा ह्वात्तै बढाउँछन् ।
प्रशोधित मासु: ससेज वा सलामी जस्ता खानेकुराले पाचनतन्त्रमा धेरै भार पार्छन् ।
यसको सट्टा के खाने ?
मनतातो पानी: पेट सफा गर्न र पाचन प्रणाली सक्रिय बनाउन मद्दत गर्छ ।
भिजाएको बदाम: ऊर्जा दिन्छ र पेटका लागि हल्का हुन्छ ।
केरा वा दलिया: पेटलाई शान्त राख्छ र ऊर्जा प्रदान गर्छ ।







