झापाको दमक नगरपालिकाका महिला परम्परागत नौमती बाजा बजाउने पेसामा जोडिन थालेका छन् ।
आयआर्जनमा जोड्दै संस्कृति संरक्षणमा समेत योगदान पुर्याउने उद्देश्यले स्थानीय सरकारले प्रोत्साहन गरेपछि यहाँका महिला यसतर्फ आर्कषित हुँदै गएका हुन् । दमकमा महिलाहरुका चारवटा नौमती बाजा समूह बनाइएका छन् । गत आर्थिक वर्षदेखि सुरु भएको यस अभियानमा नगरका ५० महिला आबद्ध भएका छन् ।
दमकको वडा नम्बर १० मा गत आर्थिक वर्षदेखि नै १० जना रहने गरी सङ्गम नौमती बाजा समूह गठन गरेर तालिम प्रदान गरिएको स्थानीय कल्पना अधिकारीले जानकारी दिइन् । यो समूहले बाजा बजाएरै आम्दानी गर्न थालिसकेको उनले बताएकी छन् ।
दमक १० की वडा सदस्य भूमिका आचार्यले एउटा कार्यक्रममा बाजा बजाएवापत समूहले रु २५ हजारसम्म लिने गरेको बताइन् । कार्यक्रममा आकर्षण बढाउन धेरैको रोजाइमा महिलाको यो नौमती बाजा समूह पर्न थालेको पनि उनले बताएकी छन् । “असार महिनामै तीनवटा कार्यक्रम निर्धारण भइसकेका छन्, मङ्सिरमा हुने शुभ विवाह तथा ब्रतबन्धका लागि अग्रिमरुपमा समूहसँग समय लिनुपर्ने हुन्छ । यसले महिलालाई आयआर्जनका साथै संस्कृति संरक्षणमा समेत सहयोग पुगेको छ”, आचार्यले भन्नि ।
सोही वडाका अध्यक्ष राजेन्द्र भण्डारीले यहाँका महिला सक्रिय भएपछि शुभकार्यमा टाढाबाट बाजा बजाउने मान्छे खोज्नुपर्ने बाध्यता विस्तारै हट्दै भएको बताए ।
आयोजक व्यक्ति वा संस्थाले कार्यक्रमका लागि औपचारिक निम्तो दिएपछि नौमती बाजा समूहले सर्तअनुसार बाजा बजाउने र त्यसबाट आएको रकम समूहमा महिलालाई पारिश्रमिक स्वरुप दिने गरेका छन् ।
दमकको ३ नम्बर वडामा गठन गरिएको नारी सशक्तीकरण समाजले नौमती बाजा समूह बनाएर काम गरिरहेको छ । दमक नगरपालिकाबाट तालिमप्राप्त यो समूह सार्वजनिक कार्यक्रमका लागि तयारी अवस्थामा रहेको समाजकी अध्यक्ष लता चापागाईंले बताइन् ।
दमकको वडा नं ८ र ५ का महिलालाई संगठित गरी १५ दिने तालिम सञ्चालन गरिएको छ । तालिममा दुवै वडाका २२ जना महिला सहभागी रहेका वडा नम्बर ५ का अध्यक्ष इन्द्र गुरुङले जानकारी दिए ।







