मंगलबार मध्यरातमा आएको पानीसहितको हावाहुन्डरीले झापाको मेचीनगरका दुईवटा उद्योगमा एक करोड रुपैयाँभन्दा बढीको क्षति गरेको छ ।
मेचीनगर नगरपालिका वडा नं.१० प्रगति टोलमा रहेको हलेसी भेनियर उद्योगमा एक करोड रुपैयाँको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
डिल्लीराम श्रेष्ठले सञ्चालन गरेको सो भेनियर उद्योगको सात ट्रक (ट्रकमा लोड गर्दा हुने परिणाम) भेनियर पत्ता, कामदार बस्ने कटेज, पिलिङ मेसिन, चाइनिज मेसिनसहित उद्योगको दुवैपट्टिको टिनको छानामा क्षति पुगेको छ ।
त्यस्तै, मेचीनगर-१० लालपानीमा श्याम न्यौपानेले सञ्चालन गरेको सिद्धविनायक भेनियर उद्योगको एक ट्रक (ट्रकमा लोड गर्दा हुने परिणाम) भेनियर पत्ता, उद्योगको टिनको बेरा र छाना उडाउँदा १० लाख रुपैयाँ क्षति भएको प्रहरीले जनाएको छ ।
हावाहुरीले केही फुसका घरहरु उडाएको छ भने बिजुलीका पोल र रुखहरु ढलेका छन् ।







