अमेरिकामा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आर्थिक बर्ष २०२३ का लागि थप झण्डै ६५ हजार अस्थायी गैर कृषि कामदारका भिसा उपलब्ध गराउने घोषणा गरेको छ । यी भिसाहरु सामान्यतया प्रत्येक आर्थिक वर्षमा उपलब्ध हुने ६६ हजार भिसाबाहेक थप गरिएका भिसाहरु हुन् ।
रोजगारदाताहरुले थप ६५ हजार एच टु बी भिसाका लागि आवेदन दिन सक्नेछन् । अक्टोबर १, २०२२ मा सुरु भएको आर्थिक वर्षको सुरुमा यी थप भिसाहरू उपलब्ध गराएर डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले थप अस्थायी कामदारहरूको लागि रोजगारदाताहरूको आवश्यकतालाई सम्बोधन गर्न द्रुत रूपमा कार्य गरिरहेको जनाएको छ ।
थप गरिएकामध्ये २० हजारभिसा हाइटी र मध्य अमेरिकी देश होन्डुरस, ग्वाटेमाला र एल साल्भाडोरका कामदारहरूका लागि छुट्याइएको छ । अरु ४४ हजार ७ सय १६ भिसा विगतमा ३ बर्षमध्ये कुनै आर्थिक बर्षमा यस्तो भिसा लिएका वा स्वीकृत भएका र अहिले काममा पुन फर्कनेहरुका लागि उपलब्ध हुनेछन् ।
रोजगारदाताहरुले पहिले नै अमेरिकामा एच टु बी भिसामा रहेकाहरुलाई नयाँ आवेदन स्वीकृत हुँदासम्म प्रतिक्षा नगरी तुरुन्तै काममा लगाउन सक्नेछन् ।







