माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले महानगर र उपमहानगरपालिकाका उम्मेदवारको टुंगो लगाएको छ। वैशाख ३० गते हुने निर्वाचनको लागि भोलिबाट मनोनयन दर्ता सुरु हुने भएकाले समाजवादीले उम्मेदवारको टुंगो लगाएको हो।
पाँच दलीय गठबन्धनबाट समाजवादीले पोखरा महानगरको मेयर र काठमाडौं महानगरको उपमेयर पाएको छ। भने हेटौंडा उपमहानगरको मेयरसहित इटहरी, बुटवल र तुलसीपुरको उपमेयर भाग पाएको छ।
महानगरतर्फ पोखराको मेयरमा धनराज आचार्य र काठमाडौंको उपमेयरमा रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले बताए।
यस्तै, हेटौँडा उपमहानगरपालिकाको मेयरमा मीना लामा, बुटवल उपमहानगरपालिकाको उपमेयरमा चीनबहादुर गुरुङ, तुलसीपुर उपमहानगर उपमेयरमा जोगबहादुर राना, इटहरी उपमहानगरपालिकाको मेयरमा केशव विष्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
त्यस्तै, अध्यक्ष नेपालले महानगर र उपमहानगरमा गठबन्धनका दलबीचको भागबण्डामा सन्तुष्ट भए पनि तल्लो तहबाट आएको रिपोर्टमा असन्तुष्टि जनाइरहेका छन्।उनले आफ्नो पार्टीको संगठन देशव्यापी भए पनि गठबन्धनमा रहेका दलहरूको तीव्र आकांक्षाले समस्या भएको बताए।







