काठमाडौं । नेपालमा विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष पुरा भएको छ । १५ वर्ष अगाडि आजकै दिन तत्कालीन सात राजनीतिक दल र माओवादीले विस्तृत शान्ति सम्झौतामार्फत एक दशक लामो युद्ध अन्त्यको घोषणा गरेका थिए ।
विसं २०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले हस्ताक्षर गरेको शान्ति सम्झौताका मुख्य कार्यभार थिए– संविधान सभामार्फत नयाँ संविधान निर्माण, माओवादी लडाकुको व्यवस्थापन, संक्रमणकालीन न्याय र आर्थिक–सामाजिक रुपान्तरण ।
शान्ति सम्झौताले निर्धारणा गरेका लक्ष्यमध्ये ६ वर्ष अगाडि संविधान सभामार्फत संविधान निर्माण भइसकेको छ । त्यसैगरी ९ वर्ष पहिला नै माओवादी लडाकुको समायोजन तथा व्यवस्थापनको काम पनि सम्पन्न भइसकेको छ ।
तर संक्रमणकालिन न्याय संपादन र आर्थिक–सामाजिक रुपान्तरणको काम भने अझै टु्ंगिएको छैन । १० वर्षे द्वन्द्वको क्रममा तत्कालीन राज्य पक्ष र माओवादीबाट भएको मानव अधिकार उल्लंघनको छानबिन गरी सत्य पत्ता लगाउने र दोषीलाई कार्वाही गर्ने काममा कुनै प्रगति भएको छैन । अहिले पनि हजारौ द्वन्द्व पीडित सत्य र न्यायको प्रतीक्षा गरिरहेका छन् ।

यसैबिच , नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्वकालमा भएका मानव अधिकार उल्लङ्घनका गम्भीर घटनामा आममाफी दिन नसकिने बताउनुभएको छ । विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १५ वर्ष पूरा भएको अवसरमा पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले विज्ञप्तिमार्फत द्वन्द्वकालमा भएका मानवता विरोधी ज्यादती तथा मानव अधिकार उल्लङ्घनका गम्भीर घटनामा आममाफी दिने कुरामा सहमत हुन नसक्ने बताउनुभएको हो ।







