झाप । ए प्लाष्टिक एनिमियाबाट पीडित भइ निधन भएका बिर्तामोडका राजु चौधरीको परिवारलाई युवाहरुले घर निर्माण गरिदिने भएका छन् ।
जसका लागि स्थानीय लक्ष्मीमाया सुनारको संयोजकमा ५ सदस्यीय घर निर्माण समिति गठन गरिएको छ । जसमा विशाल अग्रवाल, देविका कार्की, संगीता गिरी र सुधामाया थापा सदस्य छन् ।
स्थानीय रेडियम व्याण्डका गायक तथा गितारिस्ट राजु चौधरीको गत भदौ २५ गते उपचारका क्रममा भारतको दिल्लीमा निधन भएको थियो । करिब २ महिना जति नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार गराइएको थियो । उनको उपचारकै क्रममा निधन भएको हो ।
उनको उपचारका लागि देश विदेशमा रहेका शुभेच्छुकहरुले आर्थिक सहयोग गरेका थिए । बिर्तामोडका युवाहरुले ‘फर राजु चौधरी’ अभियान सञ्चालन गरी उनको उपचारका लागि आर्थिक सहयोग जुटाएका थिए ।
तर, उपचारकै क्रममा राजु चौधरीको निधन भएपछि अभियान रोकिएको थियो । राजुको उपचारसहित विविध खर्च गरि करिब २० लाखजति खर्च भएको अभियानका सदस्य विशाल अग्रवालले जानकारी दिए ।
उनका अनुसार उपचारका लागि संकलित झण्डै ७० लाखमध्ये स्व। राजुको परिवारका लागि २० लाख मूल्यबराबरको चार कोठे घर निर्माण गर्न लागिएको छ ।
यसैगरी, बिर्तामोड ५ की वडा सदस्य तथा कार्यपालिका सदस्य भगिरथा आचार्य घिमिरेको संयोजकत्वमा प्रकाश लिङदेन, विकास गिरी र वडा सचिव विमल पोख्रेल सदस्य रहने गरी अनुगमन समिति बनाइएको छ ।







