बिर्तामोड । बिर्तामोडका राजनीतिक व्यक्तित्व स्वर्गीय ज्ञानुराम प्रसाईका बारेमा बिशेषांक प्रकाशित गरेको प्रतिदिन दैनिकले संझनास्वरुप त्यसलाई मंगलबार हस्तान्तरण गरेको छ । स्वर्गीय ज्ञानुराम प्रसाईको ४५ औं दिनको पुण्यतिथिमा त्यस बिशेषांकलाई फ्रेममा सजाएर प्रसाई परिवारलाई हस्तान्तरण गरिएको हो ।
प्रसाईको घरमा एक कार्यक्रम गरी बिशेषांकमा लेख लेख्ने सम्पूर्ण लेखकहरुको उपस्थितिमा त्यस फ्रेमसहितको बिशेषांकलाई ज्ञानुरामकी पत्नी बिर्तामोड नगरपालिकाकी उप प्रमुख पवित्रा महतारा प्रसाई,छोरा प्रजेश ,छोरी प्रज्ञा लाई प्रदान गरिएको हो ।
दिवंगत ज्ञानुरामप्रति एक मिनेट मौन धारण गरी शुरु गरिएको कार्यक्रममा बिशेषांकमा आफ्ना भावना व्यक्त गर्ने लेखकहरुमध्ये सुवास भट्टराई , किशोर पौडेललगायतले बोलेका थिए ।
उनीहरुले एकजना संझनलायक व्यक्तित्वलाई गुमाउनु पर्दा ठूलो क्षति बेहोर्नु परेको भन्दै दिवंगत ज्ञानुरामका अधुरा सपनालाई सार्थक बनाउने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा प्रतिदिन दैनिकका तर्फबाट बोल्दै प्रबन्ध निर्देशक उमेश राउतले ज्ञानुरामको निधनबाट आफूहरुले एकजना अभिभावक गुमाएको धारणा राखे ।
उनले ज्ञानुरामको संझनालाई जीवन्त राख्न प्रतिदिन दैनिकले बिशेषांक प्रकाशित गरेको बताए । बिशेषांक ग्रहण गर्दैगर्दा ज्ञानुरामकी पत्नी पवित्रा अत्यन्त भावविह्वल बनेकी थिइन् । उनले आफूहरुले धेरै लामो संघर्ष गरेर यो ठाउँमा आइपुग्दा श्रीमनको साथ गुमाउनु परेको पीडा सुनाइन् ।
कोरियामा बसेर गरेको दुख संझिदै उनले आफ्ना श्रीमानले कोरियामा भोकभोकै संगठन निर्माण गरेको घटना सुनाइन् ।‘ बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म भात नखाइ बैठक गर्नुहुन्थ्यो’उनले संझिदै भनिन् ‘कोरियामा बसेर संगठनको लागि निकै दुख ग¥यौं ।’

कोरिया जानुअघि आफ्ना श्रीमानले ताप्लेजुङमा पनि निकै संघर्ष गरेको बताइन् । ‘ पंचहरुले मार्नकै लागि दुईतले घरमाथिबाट झारेर हातखुट्टा भाचिदिए , मर्यो भनेर फालिदिए , बचाउन आउने एकजना भाइलाई नवमी डाँडाबाट झारेर हत्या गरे’ त्यो संघर्षको कथा संझिदै उनले भनिन् ,‘ स्कूलमा पढाउनु हुन्थ्यो टिक्न नसकेर अध्यापन पनि छोड्नु पर्यो ।’
कोरियाबाट नेपाल फर्किएर आफूहरुले शून्यबाट राजनीति थालेको उनले बताइन् । ‘ शुरुमा सालबारी बनको अध्यक्ष बन्नुभयो । बनमा ठुटा मात्र थियो । त्यसलाई हराभरा बनाउनु भयो । टपरी उद्योग खोल्नु भयो , बिहीबारे बजार लगाउनु भयो’ उनले भनिन् ।
बिर्तामोडमा आएर दुवै दम्पतीले निकै संघर्ष गर्नुपर्यो । शुरुमा ज्ञानुरामले एमालेको वडा सचिव भएर काम थालेका थिए । पछि बिर्तामोड नगर अध्यक्ष भए ।
माओवादी द्वन्द्वका बेला पार्टी सुदुढीकरण गर्न सहज नभएको संझिदै पवित्राले माओवादी संघर्षका बेला कार्यकर्ता बटुल्न निकै समस्या हुँदा पनि कुशल ढंगले नेतृत्व सम्हालेको बताइन् ।
‘कहिले आधा पाक्दै गरेको सब्जी खाएर जानुहुन्थ्यो , कहिले राति अररिएको भात खानु पथ्र्यो ’ पार्टीको लागि गरेको दुख सुनाउँदै भनिन् ‘ज्वरो आएर हनहनी भएको बेलामा समेत अरुको सहयोग गर्न पछि पर्नु भएन ।’ बिर्तामोड नगरपालिकाको लागि धेरै काम गर्ने योजना रहेको सुनाउँदै पवित्राले भनिन् ‘ बिर्तामोड नगर बनाउने योजना उहाँको अधुरै रह्यो ।’
उनका अनुसार ज्ञानुरामले जुन काम छुनु भयो त्यो काम सफल पारेरै छोड्नु हुन्थ्यो । देहान्तपछि आफू सहाराविहीन बनेपनि समस्या र चुनौतीसँग लड्दै आफ्ना श्रीमानले कमाएका साथीभाइको माया र सहयोगमा बाँच्ने चाहना भएको उनले बताइन् ।
कार्यक्रममा प्रतिदिन दैनिकका अध्यक्ष युवराज दाहाल , सम्पादक इन्द्रसिंह राजवंशी , बजार व्यवस्थापक माधव खनाल , लेखकहरु माधव कल्पित , अर्जुन मैनाली , देवराज कार्की , छविलाल विश्वकर्मा , केशव मैनाली , कैलाश प्रसाई,सिर्जना क्षेत्री , उर्मिला बिमली खरेल, निता घतानी लगायतको उपस्थिति रहेको थियो ।








