काठमाडौं । इन्द्रावती नदीमा एकजनाको शव भेटिएको छ । सिन्धुपाल्चोकमा बाढीले बगाएर एकजनाको मृत्यु भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए।
“एकजनाको शव प्रहरीले इन्द्रावती नदीमा फेला पारेको छ,” प्रमुख जिल्ला अधिकारी पोखरेलले बाह्रखरीसँग भने, “अन्य के–कति मानवीय क्षति भयो पुष्टि भइसकेको छैन ।” ७ जना बेपत्ता रहेको उनले बताए । मृतक र बेपत्ता हुनेको संख्या बढ्नसक्ने बताइएको छ ।
सिन्धुपाल्चोकमा तीनओटा झोलुङ्गे पुल पनि बाढीले बगाएको छ । मेलम्ची खानेपानीको तिम्बुमा रहेको बाँध बगाएको छ । तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजारमा ठूलो क्षती भएको छ ।
Advertisement
बाढीले नाकोते, तिम्बु, फट्टे, मेलम्ची नवलपुर जोड्ने पुल बगाएको छ । अहिले पनि जोखिम कायम छ । उक्त क्षेत्रमा आज पनि पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।







