पाँचथर । पाँचथरको सदरमुकाम फिदिममा शनिबार विहान भएको आगलागिबाट ३१ लाख ३१ हजार रुपैंयाको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार लखन मार्गमा रहेको दावा शेर्पाको घरमा विहान ८ वजे भएको आगलागीमा काठको प्रयोग गरेर निर्माण गरिएको २ तले घर जलेर नष्ट भएको थियो । आगलागिबाट उक्त घरमा डेरा लिएर बस्ने ६ परिवारको गरी उक्त परीमाणको क्षति भएको हो ।
आगलागीमा शेर्पाको ७ लाख ५० हजार सहित सोहि घरमा डेरा बस्दै आएका खड्गवहादुर गुरुङको ६ लाख ६० हजार, कुलबहादुर मगरको ३ लाख, तारा भुजेलको २ लाख, मनवहादुर सुनारको ३ लाख ७२ हजार, जितवहादुर मिफोकको २ लाख ४० हजार र इन्द्रकुमार योक्पाङदेनको ३ लाख ५९ हजार सहित यातायात मजदुर संघको कार्यालयमा रहेका २ लाख ४० हजार मुल्य वरावरका फर्निचर जलेर नष्ट भएका हुन ।
घर आगलागीमा परेपछि डेरा गरी वस्ने ६ परिवारका २२ जना बिस्थापित भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।
आगलागि करीब १ घण्टापछि फिदिम नगरपालिकाको २ वटा दमकल, स्थानिय र प्रहरीले नियन्त्रणमा लिएका थिए ।
विद्युत सर्ट भएर आगलागि भएको अनुमान गरिएको छ ।







