काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ।
प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटीको बैठक बस्न लागेको स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिए। उनले बाग्मती प्रदेशमा हुने राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन तथा लुम्बिनी हुने निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको टुंगो लगाउन बैठक बस्न लागेको बताए।
जेठ ६ गते बागमती प्रदेशमा उप निर्वाचन हुँदैछ। त्यसका लागि उसले आफ्नो आधिकारीक उम्मेदवार चयन गर्न लागेको हो। यसअघि बैशाख १० गतेको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उक्त उपनिर्वाचनमा एमालेको तर्फबाट रामबहादुर थापा बादल नै उम्मेदवार हुने बताएका थिए। आजको बैठकले औपचारिक निर्णय गर्ने बताइएको छ।
यस्तै लुम्बिनी प्रदेशमा हुने उप निर्वाचनको पनि मिति तोकिएकाले त्यहाँको उम्मेदवारको पनि आजको बैठकले नै टुंगो लगाउने बुझिएको छ।
राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको नेपाल–खनाल समूह र जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले संयुक्त गठबन्धन गरेका छन्।







