कृषि क्षेत्रबाट केही हुँदैन भन्नेहरुका लागि झापा अर्जुनधाराका मिश्र दम्पती प्रेरणाका स्रोत बनेका छन् ।
झापाको अर्जुनधारा नगरपालिका वडा नं.१० का भानु मिश्र र इन्दिरा मिश्रले पशुपालन र व्यवसायिक तरिकारी खेतीबाट वार्षिक लाखौं आम्दानी गर्दै आएका छन् ।
देशमा रोजगारीको अभाव भएर लाखौं युवाहरु विदेश पलायन भइरहेको समयमा मिश्र दम्पतीले भने गाउँघरमै कृषिबाट लोभलाग्दो आम्दानी गरिरहेका हुन् ।
लामो समयदेखि कृषिमा रमाइरहेका उनीहरुले तीन वर्ष अघिबाट भने मिश्र कृषि फर्म दर्ता गरेर व्यवसायिक रुपमा खेती गर्दै आइरहेका छन् ।
करिब १५ कट्ठा जमिनमा १ लाख लागतबाट सुरु गरेको व्यवसायबाट हाल वार्षिक १० लाख आम्दानी हुँदै आएको कृषक मिश्रले बताए ।
स्थानीय सरकार र सम्बन्धित निकायले भने किसानका समस्यालाई वेवास्ता गर्दै प्राविधिक सहयोग र प्रोत्साहनमा गम्भीर बन्न नसकेको कृषक मिश्रको गुनासो रहेको छ ।
उनी भन्छन् “नेपाल कृषि प्रधान देश भन्ने तर कृषकका आवश्यकतालाई राज्यले वास्तै नगरी सहयोग र प्रोत्साहनमा गम्भीर बन्न सकेको छैन् ।”
तरकारी खेतीसँगै पशुपालन समेत गरीरहेका उनीहरुले ४ माउ गाई र १५ वटा बाख्रा समेत पालेका छन् । तरकारी मात्र नभएर दैनिक रुपमा ३५ लिटर दूध ब्रिकी गर्ने गरेको उनी बताउँछन् ।
स्थानीय सरकारले कृषकले उत्पादन गरेका सामग्री आफैं खरिद गरेर बिक्री गर्दा मात्र कृषकले मेहेनत गरे अनुरुपको मूल्य पाउने मिश्र बताउँछन् ।
उनका अनुसार आफूले उत्पादन गरेको तरकारी बजारमा लगेर व्यापारीलाई सस्तो मूल्यमा बेच्नुपर्ने बाध्यता रहेको छ ।
स्थानीय सरकारले कृषकले उत्पादनको सामग्रीलाई न्यूनतम समर्थन मूल्य निर्धारण गरेको खण्डमा मात्र कृषकको परिश्रमको सम्मान हुने उनी बताउँछन् । यसका अतिरिक्त खेतीबाली तथा पशुको बिमामा सहजीकरण गरेको अवस्थामा कृषकले आफनो पेशालाई निरन्तरता दिन सक्ने उनको तर्क छ ।
आधुनिक प्रविधिको प्रयोग गर्दै उनीहरुले उत्पादन गरेको विषादीरहित तरकारी झापाका विभिन्न बजारहरुमा पुग्ने गरेको छ ।
मिश्र दम्पती जस्ता लाखौं कृषकहरु स्वदेशमै कृषिमा आत्मनिर्भर भइरहेको अवस्थामा राज्यले प्राविधिक सहयोग र प्रोत्साहन भने नगर्नु गम्भिर विषय बनेको छ ।







